१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सबै नगरपालिका सिटिनेटको सदस्य


२० कार्तिक २०७६, बुधबार  

0
Shares

सिटीनेटको बैठकमा सहभागीहरु तस्विर खिचाउदै ।

२० कार्तिक ०७६, ललितपुर । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालका सबै नगरपालिकालाई एशिया– प्रशान्त क्षेत्रका विभिन्न नगरपालिकालगायत तिनीहरुसँग सरोकार राख्ने लगानीकर्ताहरुको संस्था (सिटीनेट) को सदस्य बनाउन आग्रह गर्नुभएको छ ।
ललितपुर महानगरपालिकाको आयोजनामा आजदेखि शुरु भएको सिटीनेटको ३८औँ अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपाल सरकारले देशलाई समृद्ध बनाउन कृषि उत्पादनमा थप जोड, देशमा सम्भावना भएसम्मको खनिज उत्खनन, जलवायु परिवर्तन र पर्यटन विकासमा जोड दिन लागिपरेको बताउनुभयो ।
उहाँले मुलुकको विकासका लागि वैदेशिक लगानीको अति नै खाँचो रहेको औँल्याउनुभयो । नेपालको समृद्धि बढाउने पूर्वाधार भनेकै पर्यटन रहेकाले भ्रमण वर्ष २०२० मा सबै सदस्य राष्ट्रका मानिसलाई सपरिवार नेपाल घुम्न आउन आग्रह गर्नुभयो ।
सिटीनेटका सचिव तथा दक्षिण कोरियाको राजधानी नगर सिउलका प्रमुख पार्क वोन–सुनले सदस्य राष्ट्रका नगरपालिकालाई सो सम्मेलनबाट दिगो विकासको रणनीति हासिल गर्न सहयोग पुग्ने बताउनुभयो । सिटीनेटका महासचिव विजय जगनाथनले पाटनको सम्पदा क्षेत्रभित्र दुई र चारपाङ्ग्रे सवारी साधन निषेध गर्न अति नै आवश्यक रहेको औँल्याउनुभयो ।
ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले नेपाल २९ वर्षअघि देखि सिटीनेटमा आबद्ध भएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘एशिया प्रशान्त क्षेत्रका बढी राष्ट्रहरु सिटीनेटमा आबद्ध भएका छन् ।’ महानगरपालिकाभित्र रहेको सम्पदाको प्रचारप्रसारका लागि भविष्यमा महानगरपालिकाले सम्पदा तथा दिगो पर्यटनसम्बन्धी सम्मेलन गर्ने योजना बनाएको प्रमुख महर्जनले बताउनुभयो ।
सिटीनेटमा हालसम्म विभिन्न मुलुकका १५६ सदस्य रहनुका साथै २२ देशका १३५ नगरपालिका संलग्न रहेका छन् । सिटीनेटमा नेपालका १४ वटा नगर सदस्य बनेका छन् ।
तीन दिनसम्म चल्ने उक्त सम्मेलनमा ‘ हेरिटेज एण्ड सस्टेनेबल डेभलपमेन्ट विषयमा सेमिनार हुनेछ । ललितपुर महानगरपालिका अघिल्लो महाधिवेशनमा कार्यसमिति सदस्यमा निर्वा्चित भएको थियो ।
सिटी नेट सन् १९८७ मा स्थापित सहरको विकासका लागि प्रतिबद्ध निकाय र संस्थाहरु आबद्ध भएको संस्था हो ।
सिटीनेटले सहरलाई विकसित र समृद्ध बनाउनका लागि नेतृत्व गरिरहेका नेतृत्वकर्ताहरुको क्षमता अभिवृद्धि गर्न सहयोग गर्छ । त्यसैगरी सिटीनेटसँग आबद्ध भएका नगरहरु र संघसंस्थाहरुबीच असल अभ्यास र अनुभवहरु आदानप्रदान गर्न गरिन्छ ।
सिटीनेटको सदस्य भएका अन्य महानगरपालिकाहरुमा काठमाडौं, भरतपुर, विराटनगर, पोखरा रहेका छन् । उपमहानगरमा विरगंज, धरान, हेटौडा , नेपालगंज रहेका छन् । यसैगरी सिटीनेटको सदस्य हुनेमा गोदावरी, महालक्ष्मी, तानसेन नगरपालिका रहेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ८ : ५८ बजे