४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रपति विद्यादेवीद्वारा पशुपतिमा पूजा आराधना ( फोटोफिचर)


९ फाल्गुन २०७६, शुक्रबार  

0
Shares

पशुपति विकास कोषका पदाधिकारीबाट राष्ट्रपति भण्डारीलाई स्वागत
महाशिवरात्रिका अवसरमा शुक्रबार पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गर्दै पशुपति विकास कोषका पदाधिकारी । तस्वीर : नवीन पौडेल /रासस

९ फाल्गुन ०७६, काठमाडौ । महाशिवरात्रिका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरी प्रसाद ग्रहण गर्नुभएको छ । आज साँझ पशुपतिनाथ मन्दिर पुग्नुभएकी राष्ट्रपति भण्डारीलाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, सदस्य–सचिव डा प्रदीप ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापा, कार्यकारी निर्देशक डा घनश्याम खतिवडा, कोष सञ्चालक परिषद्का सदस्यलगायतका कर्मचारीले स्वागत गर्नुभएको थियो ।

त्यस्तैगरी पशुपति दर्शन विधिअनुसार मूलमन्दिर प्रवेश गरी राष्ट्रपति भण्डारीले पूजा आराधना एवं दर्शन गर्नुभएको कोषका सदस्य–सचिव ढकालले जानकारी दिनुभयो । पशुपतिनाथका मूल भट्ट रावल गणेश भट्टले राष्ट्रपति भण्डारीलाई पशुपतिनाथको फूल प्रसाद दिनुभएको थियो ।

त्यसलगतैउपराष्ट्रपति नन्दबहादुर पुन पनि पशुपतिनाथ मन्दिर जानु भई पूजा आराधना एवं दर्शन गर्नुभएको थियो । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रिका अवसरमा राष्ट्राध्यक्षले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने प्राचीनकाल देखि चलिआएको परम्परा हो ।

महाशिवरात्रिका अवसरमा शुक्रबार पशुपतिनाथ मन्दिरको दर्शन गर्न जानु भएका उपराष्ट्रपति नन्दबहादुर पुनलाई स्वागत गरिँदै । तस्वीर :नवीन पौडेल/ रासस

आजको दिन पशुपतिनाथ मन्दिर दर्शनका लागि लाइनमा बस्नेलाई आज रातभर पनि ढोका खुला रहने कोषले बताएको छ । लाइनमा बस्ने भक्तजन सकिएपछि विशेष पूजाका लागि रसिद लिएका भक्तजनबाट पूजा आराधना गराइने छ । महाशिवरात्रिका दिन रात्रिकालको विशेष पूजाका लागि ३०० भन्दा बढी भक्तजनले रसिद काटेको कोषका कार्यकारी निर्देशक डा खतिवडाले जानकारी दिनुभयो ।

आज बिहान २७ जना र दिउँसो करिब ९० जना भक्तजनले पशुपतिनाथ मन्दिरमा विशेष पूजा गराएका थिए । दिउँसो धेरै भक्तजनको भीड लाग्ने भएकाले विशेष पूजाको धेरै रसिद नकाटिएको कोषले बताएको छ ।

महाशिवरात्रिको अवसरमा सम्पूर्ण हिन्दूका लागि सबैभन्दा महत्वपूर्ण र पवित्रस्थल काठमाडौँको पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने शुक्रबार दर्शनार्थीहरुको भीड । तस्वीर : रोशन सापकोटा,/ रासस

महाशिवरात्रिका अवसरमा बिहीबारदेखि नै देश विदेशका भक्तजनको पशुपति क्षेत्रमा भीड लागेको थियो । साधुसन्त भने बुधबारदेखि नै पशुपति क्षेत्रका विभिन्न स्थानमा बसेका छन् । यसवर्ष करीब चार हजार साधुसन्त पशुपति क्षेत्रमा आएका छन् । करीब ४०० भन्दा बढी नागा बाबा फागुन कृष्ण एकादशीदेखि पशुपति मूलमन्दिर परिसरमै बसेका छन् ।

पशुपति क्षेत्रमा महाशिवरात्रिका आएका सबै साधुसन्तलाई फागुन कृष्ण औँसीका दिन गुठी संस्थान र कोषले दान दक्षिणासहित बिदाइ गर्ने जनाइएको छ । पशुपति क्षेत्र र टेकु एवं थापाथली क्षेत्रका विभिन्न अखडामा बसेका साधुसन्तलाई संस्थान तथा कोषले खाने एवं धुनीका लागि दाउरा दिएको संस्थान पशुपति गोश्वारा कार्यालय प्रमुख उमा आचार्यले जानकारी दिनुभयो ।

महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनमा आएका भक्तजनलाई दिउँसोदेखि परेको पानीले प्रभावित बनाएको थियो । यसवर्ष विशेष सजावट गरिएकाले सामान्य पानी भने मूल मन्दिर वरपरको क्षेत्रमा छेकिएको देखिन्थ्यो । विगतभन्दा पशुपतिमा शिवरात्रि मेला व्यवस्थित देखिए पनि स्वयंसेवक र सुरक्षाकर्मीले आफ्ना मान्छे छिराएर लाइनमा बस्नेलाई दुःख दिएको गुनासो पनि भक्तजनको थियो । राष्ट्रपतिको समाचार सङ्कलनका लागि पशुपति क्षेत्र पुगेका केही सञ्चारकर्मीलाई समेत सुरक्षा निकाय र स्वयंसेवकले मूल प्रवेशमै रोकेका थिएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रिका अवसरमा शुक्रबार पशुपतिनाथ मन्दिरमा दर्शन गरी फर्कने क्रममा । तस्वीर : नवीन पौडेल/रासस

 

राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रिका अवसरमा शुक्रबार पशुपतिनाथ मन्दिरमा दर्शन गरी फर्कने क्रममा सर्वसाधारणलाई अभिवादन गर्दै । तस्वीर : नवीन पौडेल/ रासस

 

महाशिवरात्रिका अवसरमा शुक्रबार पशुपतिनाथको दर्शनपछि उपराष्ट्रपति नन्दबहादुर पुनसँग संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेशकुमार भट्टराईलगायत मन्दिर परिसरमा । तस्वीर : नवीन पौडेल/ रासस

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ११ : २९ बजे