✍ कमला वस्ती/नुवाकोट
मेरो बुवा उ त्यो बादल पारिको जुन देखाउदै भन्नुहुन्थ्यो ”
तैले पनि त्यो जुनले जस्तै परिवारमा उज्यालो ल्याउनु है”
म हाँस्दै टेबल बाट लाइट निकाल्दै जबाफ दिन्थे ” यो लाइट चाहिँ बाल्छु नि हुन्न”
आधी रातमा खेतको काम सकेर आउनु हुन्थ्यो र कोदाली नराख्दै मामुलाई भन्नुहुन्थ्यो ”
छोरीले खाना खाएर त सुति नि, आज त्यस्को स्वास्थ कस्तो छ? खुशी त देखिएकी छे नि?”
मेरो लागि यति शब्द भन्दै गर्दा उहाँले तीन पटक खोकिसक्नु भएको हुन्थ्यो
सायद दिनभरी माटो सँगै खेल्दा खेल्दै त्यही माटोले समाएर होला ।
जब उज्यालो भएर आँखा मिच्दै म व्युतिन्थे, हत्तपत्त “काली” बोल्नुहुन्थ्यो
तलाई औषधि खानुपर्ने तेरि आमालाई केही थाहा छैन छिट्यो उठ त स्कुल पनि जानुपर्ने
म पनि हतारीदै उठ्ने गर्थे उहाँको प्रेम सँग रमाएर होला ।
म अलिकति बिरामी भएर सुतिदिँदा खुब आतिनुहुन्थ्यो,
एकदिन साथी सँग खेल्ल गएभने अरु जस्तै भइ मेरि छोरी भन्दै मातिनु हुन्थ्यो,
मेरो बुवा, मलाई स्वास फेर्न गाह्रो हुँदै गर्दा उता मुटु छाम्दै छट्पट्टाउनु हुन्थ्यो
म ठिक छु भन्नेबित्तिकै खै कताबाट बल आउने हो कुन्नी मुसुक्क मुस्कुराउनु हुन्थ्यो ।
मैले कलम समाउँदै गर्दा उहाँको हर्षको सिमा नाघेको याद छ मलाई,
घरमा खाने कुराको अभाव हुँदा पनि आफू भोकै बस्नुभएको याद छ मलाई,
हलो, कोदालो र माटो सँग थकान भएर घर आइपुग्दा पनि त्यो हिलै शरीरले मेरो ज्वरो छाम्न पुग्नुहुन्थ्यो,
मैले अलि असहज महसुस गरेभने आफैँ किन रुनुहुन्थ्यो
“मेरो बुवा”जसले म बाहेक आफ्नै लागि कहिल्यै सोच्नु भएन
हरेक परिस्थितिमा, अभावसँग जुद्धा पनि मलाई कहिँ कतै घोच्नु भएन
घर व्यबहारले थिचोमिचो पारिरहँदा हाम्रो पछाडी टाउको समाउँदै बस्नुहुन्थ्यो
आँखाभरी आँसु र मनभरीको पिर लुकाइ रमाउँदै सामु रमाउँदै बस्नुहुन्थ्यो
फुटेर छियाछिया भएको ती पैतालाले अझ मेरै निम्ती कतै पुग्नु छ भन्दै यात्र गर्छ भन्नुहुन्छ,
खुलिएका ती हत्केला, देखाउनुहुन्छ र “मेरि छोरी यस्तो बनाउछु उस्तो बनाउछु भन्दै नचाएका हत्केला यहि हो” भन्नुहुन्छ
हरबखत” मेरै निम्ति सोच्नुहुन्छ,मेरै लागि बाच्नुहुन्छ, मेरै निम्ति हास्नुहुन्छ
“मेरो बुवा” आज पनि त्यो जुन जस्तै चम्किलो बन्छे मेरि छोरी भन्नुहुन्छ
मेरै सफलताले शिखर चुमेको सपना देख्नु हुन्छ
मलाई माफ गरिदिनुस, हजुरले खोज्नुभएको उज्यालोलाई महसुस मात्र गर्न सकेकी छु आजसम्म । “मेरो बुवा”
प्रतिक्रिया