
२८ फागुन ०७६,पुल्चोक । ललितपुर महानगरपालिका समाज कल्याण महाशाखाले यहाँभित्र रहेका समूहका महिलालाई मास्क बनाउने तालीम दिइरहेको छ । बजारमा कोभिड–१९ को सङ्क्रमण बढ्नसक्ने अवस्थामा मास्कको अभाव भएपछि तालीम दिइएको हो ।
महानगरपालिकाभित्र कूल २९ वडा र ३५१ आमा समूह रहेका छन् । यी वडाका प्रत्येक समूहका दुई महिलालाई महानगरले यही फागुन २६ गतेदेखि विहीबार २९ गतेसम्म तालीम दिइनेछ । सोमबार र मङ्गलबार ३० महिलाले यस तालीम लिइसके भने आज र भोलि ५८ जनाले तालीम लिने महाशाखा प्रमुख बाबुराजा महर्जनले बताउनुभयो ।
उहाँले भन्नुभयो, “महानगरपालिकाभित्र बस्ने सिलाइमा पूर्ण रहेका महिलाका लागि हामीले यस चारदिने तालीमको आयोजना गरेका हौँ । उहाँहरुले आ–आफ्ना वडामा गएर अन्य महिलालाई पनि तालीम दिई मास्क उत्पादन गर्नुहुने विश्वास रहेको छ ।” कोभिड–१९ को सङ्क्रमण कम गर्न मास्कले निकै सहयोग गर्ने महर्जनले बताउनुभयो ।
ललितपुरभित्रै मास्क उत्पादन भएपछि यहाँभित्रका महिला आफँै स्वरोजगार भई ललितपुरको पनि आर्थिक अवस्था सुदृढ हुने पाटन औद्योगिक क्षेत्रभित्र टेक्सटाइल उद्योग सञ्चालन गरिरहनुभएका शैलेन्द्रलाल प्रधानले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँभित्र मास्क उत्पादन भएसँगै सर्वसाधारण मानिसले सुलभ मूल्यमा यसको प्रयोग गर्न पाउनेछन् ।” मास्क बनाउँदै जाने क्रममा मित्र राष्ट्रभित्र यसको अभाव भएमा यसलाई सजिलै निर्यात गर्न पनि सकिने प्रधानको भनाइ थियो । महानगरले तालीममा रहेका यी महिलालाई सुतीको कपडामा प्रयोग गरी मास्क बनाउन सिकाइरहेको छ । यो मास्क दैनिक धोएर पुनः प्रयोग गर्न मिल्ने खालको हुने बताइएको छ ।
प्रतिक्रिया