९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


हरायो काठमाडौँ उपत्यकाका ढुंगेधारा र पोखरी


२९ फाल्गुन २०७६, बिहिबार  

0
Shares

जिर्णोद्धारको क्रममा काम गर्दै कामदार । तस्विर ः ललितपुर खबर

२९ फागुन ०७६, काठमाडौं । काठमाडौँ उपत्यकाका ९४ ढुङ्गेधारा तथा ४० पोखरी हराएको पाइएको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले गरेको अध्ययनका क्रममा यी पानीका स्रोत अहिले नरहेको पाइएको हो ।
बोर्डले दुई वर्ष पहिले काठमाडौँ उपत्यकाभित्रको ढुङ्गेधारा तथा पोखरीहरुको विस्तृत लगत सङ्कलन शुरु गरेको थियो । अध्ययन सकिएसँगै बोर्डले अहिले स्थलगत विवरणसहित पुस्तक प्रकाशन गरेको छ । एक शताब्दी पहिलेसम्म उपत्यकामा ५७३ ढुङ्गेधारा र २३३ पोखरी रहेको पुस्तकमा उल्लेख छ ।
बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले उपत्यकामा पहिले रहेको राजकुलो हराउँदा पोखरी सुकेको र ढुङ्गेधारा हराएको बताउनुभयो । पहिले उपत्यकाका तीन जिल्लामा नै राजकुलो थियो । राजकुलोको पानी बस्तीको सिरानमा रहेको सिरान पोखरी हुँदै अरु पोखरीसम्म पुगेको बताउनुभयो । पोखरी र ढुङ्गेधारामा पानी नहुँदा त्यो प्रयोगमा नआएको र विस्तारै लोप भएको पाइन्छ । उहाँले भन्नुभयो, “कतिपय पोखरीका माथि सरकारी कार्यालय बनिसकेकाले त्यो हटाउन सकिने अवस्था छैन ।”

बोर्डले स्थानीय तहसँगको सहकार्यमा उपत्यकाका पोखरी र ढुङ्गेधाराको विस्तृत अध्ययन गरिरहेको छ । आगामी दिनमा यिनलाई ब्युँताउने बोर्डको तयारी छ । पुरानो संरचनाअनुसार पानी भर्न नसकिने भएकाले वर्षाको पानी सङ्कलन गरी पुनःभरण गर्न सकिने कार्यकारी निर्देशक राणाले बताउनुभयो । यिनको पुनःनिर्माण र संरक्षण मिलेर गर्ने गरी महालक्ष्मी नगरपालिका र मध्यपुर नगरपालिकाबीच सम्झौता भइसकेको छ । अरु नगरपालिकासँग सहकार्य गरेर अघि बढ्ने बोर्डको योजना छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  ११ : २६ बजे