९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


घर घरमा पुग्यो दादुरा रुवेलाको निम्तो कार्ड


१ चैत्र २०७६, शनिबार  

0
Shares


रमेश गिरी/रासस
१ चैत्र ०७६, भक्तपुर । विवाह, ब्रतवन्ध वा कुनै शुभकार्य गर्दा निम्तो कार्ड घरघरमा पु¥याउने प्रचलन सबैलाई थाहा छ तर स्वास्थ्य सेविका घरघरमा निम्तो कार्ड लिएर पुग्दा भक्तपुरका बासिन्दालाई नौलो लागेको छ । सरकारले यही चैत ३ गतेदेखि ११ गतेसम्म सञ्चालन गर्न लागेको दादुरा–रुवेला खोप अभियानमा सूर्य्विनायक नगरपालिकाको स्वास्थ्य शाखाले नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई खोप केन्द्रमा ल्याउन घरघरमा निम्तो कार्ड पु¥याइएको छ ।
नेपाल सरकारले सन् २०२३ भित्रमा नेपाललाई दादुरा–रुवेलामुक्त घोषणा गर्ने लक्ष्यका साथ सञ्चालन गरिने अभियानमा जुटेको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वसन्त चापागाईंले नगरपालिकाभित्रका आठ हजार ६५२ बालबालिका लक्षित गरी महिला स्वास्थ्य स्वायंसेविका तथा स्वायंसेवकमार्फत घरघरमा नौ महिनादेखि पाँच वर्षका बालबालिकालाई नजिकको खोप केन्द्रमा खोप लगाउन निम्तो कार्ड वितरण गरिएको बताउनुभयो । स्वास्थ्य शाखा प्रमुख चापागाईंले स्थानीय वडा खोप समन्वय समिति र सरोकारवालाको निर्णयका आधारमा नगरका १० वटा वडामा सबैलाई पायक पर्ने गरी ७२ खोप केन्द्र निर्धारण गरी खोप लगाउने व्यवस्था गरिएको जानकारी दिनुभयो । ‘पूर्ण खोप लगाऔँ, बालबालिकालाई रोगबाट सुरक्षित गराऔँ, नियमित खोप कुनै पनि नछुटाऔँ’ भन्ने नारासहित अन्य खोपको फाइदा समेटिएको जनचेतनामूलक कार्ड घर–घरमा पुगेर वितरण गर्ने काम भइरहेको चापागाईंले बताउनुभयो ।
सूर्य्विनायक गरपालिकाका उपप्रमुख जुना बस्नेतले दादुरा–रुवेला खोप अभियानलाई सफल बनाउन सबै जनप्रतिनिधि, सम्पूर्र्ण विद्यालय, सञ्चारकर्मी, नगरप्रहरी समुदायलगायत सबैको सहयोग आवश्यक रहेको बताउदै आजभोलि यसबारेमा गाउँगाउँमा माइकिङ गरिने बताउनुभयो । उहाँले इँटाभट्टा, श्रमिक क्षेत्रलगायत पहुँचबाट टाढा रहेका बस्तीका बालबालिका नछुटुन् भन्नेतर्फ चानाखो बन्नुपर्ने बताउनुभयो । स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण मिजारले पूर्णखोप सुनिश्चित घोषणा भइसकेको भक्तपुरमा आव २०७५÷७६ मा भएको जिल्लाको तथ्याङ्कअनुसार ८८ प्रतिशत बालवालिकाले खोप लगाए पनि ७४ प्रतिशत बालबालिकाले मात्रै पूर्णखोप लगाएको बताउनुभयो । बालबालिकाले सात प्रकारको खोप लगाएर पूरा गर्नेलाई मात्र पूर्णखोप लगाउनेको सङ्ख्यामा राख्ने गरिन्छ ।
नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउन र सबैलाई पूर्णखोपको सुनिश्चित गराउन स्वास्थ्य स्वयंसेविकालाई सक्रिय बनाउन र माइकिङ गर्न आग्रह गर्नुभयो । स्वास्थ्य कार्यालयका खोप अधिकृत नारायण केसीले खोप लगाएपछि बालबालिकामा कुनै समस्या आएमा तत्कालै उपचारको व्यवस्थासमेत गरिएको जानकारी दिँदै खोपबाट कुनै असर नगर्ने बताउनुभयो । यही अभियानअन्तर्गत चैत ३ गतेदेखि ११ गतेसम्म भक्तपुर जिल्लाका चार वटै नगरपालिकाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई निःशुल्क दादुरा–रुवेला खोप लगाउन लागिएको हो ।
भक्तपुरका ३१ हजार ८७० बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ । जसका लागि चार समूहमा स्वयंसेवक परिचालन गरिनेछ । जिल्लाका भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्य्विनायकमा गरी चारवटा नगरपालिकामा १९८ वटा खोप केन्द्र रहनेछ । प्रत्येक वडामा कम्तीमा नौ वटा खोप केन्द्र सञ्चालन हुनेछ भने प्रत्येक खोप केन्द्रमा कम्तीमा एक खोप कार्यकर्ता र दुई जनाका दरले स्वयंसेविका परिचालन हुनेछन् । यसका लागि ३९६ स्वयंसेवक र ७१ जना खोप कार्यकर्ता परिचालन हुनेछन् ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  ६ : ३८ बजे