९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाँचखालमा मञ्जुश्रीको मूर्ति फेला, सम्पदा संरक्षण गर्न माग


२ चैत्र २०७६, आइतबार  

0
Shares


२ चैत्र ०७६ पाँचखाल काभ्रे । पाँचखाल नगरपालिका–१ अनैकोट, कोट्याङस्थित ठूलीचौरमा स्थानीय युवाले माटो खन्ने क्रममा बागेश्वर मञ्जुश्रीको मूर्ति भेटिएको छ । शनिबार फेलापरेको दुई फिट अग्लो उक्त मूर्तिमा नेपालको प्राचीन प्रथम मुद्रा मानाङ्कसमेत अङ्कित भएकाले सयौँ वर्ष पुरानो हुनसक्ने अनुमान गरिएको छ ।
मूर्ति भेटिएको उक्त स्थानमा थप उत्खनन गर्न नदिन र पाँचखाल क्षेत्रको सम्पदा संरक्षण गर्न नगरपालिका, स्थानीय प्रशासन तथा पुरातत्व विभागसँग माग गरिएको छ । पाँचखाल पुरातत्व सम्पदा बचाउ अभियानकर्मी श्रीकृष्ण धिमालले मूर्ति भेटिएको उक्त स्थानमा थप उत्खनन गर्न नदिन तथा सम्पदा संरक्षण गर्न पुरातत्व विभागलाई जानकारी गराइएको बताउनुभयो ।
“हामीले विभागको विज्ञ टोली बोलाएका छौँ, त्यसपछि मूर्तिबारे विस्तृत जानकारी आउँछ”, उहाँले भन्नुभयो । पाँचखाल नगर क्षेत्रमा विगत एक वर्षदेखि खोज अनुसन्धानका क्रममा सम्पदाको सम्भावना देखिइँदै आएको छ । उक्त क्षेत्रमा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन सम्पदा भएपछि पुरातत्व विभागले ‘जियोफिजिकल सर्वे’ ९भू–भौतिकी सर्वेक्षण० गर्नेसमेत जनाएको छ । पाँचखाल क्षेत्रमा खोज, उत्खननका क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएपछि जियोफिजिकल सर्वे गर्नु आवश्यक देखिएको विभागका महानिर्देशक दामोदर गौतमले बताउनुभयो ।
पाँचखालको सबै सम्पदा क्षेत्रमा उत्खनन सम्भव नभएकाले पहिलो चरणमा जमीनमुनि के–कस्तो भौतिक संरचना छ भन्ने पत्ता लगाउन जियोफिजिकल सर्वे गरिने गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, “जियोफिजिकल सर्वे खर्चिलो भएकाले बजेट व्यवस्थापन नगरी सम्भव पनि छैन, हामी त्यसबारे गम्भीर छौँ ।” उहाँले पाँचखाल नगर ऐतिहासिक सम्पदा क्षेत्रको सम्भावना देखिएकाले स्थानीय तह तथा अन्य कुनै निकायबाट बजेट उपलब्ध गराउनसके यसै वर्ष अन्यथा विभागमार्फत आउँदो आर्थिक वर्षमा बजेट छुट्याएर उक्त सर्वे गरिने बताउनुभयो ।

पाँचखाल नगरको निजी तथा सार्वजनिक क्षेत्रमा सम्पदा भेटिएकाले हाल जियोफिजिकल सर्वे उपयुक्त देखिएको विभागले निष्कर्ष निकालेको हो । गौतमका अनुसार जियोफिजिकल सर्वे मेशिनले क्षेत्र तथा जमीनमुनि सात मिटरसम्मको भौतिक अवस्था पत्ता लगाउँछ । तेमालकोट, बुचाकोट, मेथिनकोट, नगरकोट, काभ्रेकोट, सुलिकोट, अनेकोट, सल्लेकोट र भमरकोटको बीच क्षेत्रमा जमीनमुनिका सम्पदा हेर्न जियोफिजिकल सर्वे गर्न लागिएको हो ।

पाँचखाल क्षेत्रमा उत्खननका क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको पुष्टि गर्दै उत्खननमा सहभागी विभागका पुरातत्वविद्द्वारा प्रतिवेदनसमेत तयार पारिएको छ । पाँचखाल नपा–२ माल्टारमा अवस्थित विभिन्न व्यक्तिको खेतमा भेटिएका प्राचीन दरबारको गारो, २२ सेन्टिमिटर चौडाइ भएको इँटालगायतका सामग्री लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको प्रतिवेदनमा उल्लेख गर्दै सम्पदा क्षेत्रको संरक्षण र अवैध उत्खनन रोक्नु आवश्यक रहेको जनाइएको छ ।
उत्खननका क्रममा भेटिएका अन्य आकारका इँटा र अँगारको थप अनुसन्धान गर्न बाँकी छ । श्रीरामपाटीमा तीन मिटर लम्बाइ र दुई मिटर चौडाइ उत्खनन गर्दा पक्की इँटाको गारोभित्र माटाको डुँडद्वारा पानी पाइपलाइन भेटिएको थियो । स्थानीय प्रस्तर प्रयोग गरी एक मिटर ५० सेन्टिमिटरको आधार बनाई ६० सेन्टिरमिटर सुर मिलाएर गारो बलियो बनाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
पाँचखाल नगर क्षेत्रमा स्थानीय बूढापाकाले मानदेवको दरबार, रानीपोखरी, रानीपानीको कुवा, ढुङ्गेधारा र रानीपोखरी क्षेत्र करिब १२ रोपनीमा फैलिएको, खेतबारी खनजोत गर्ने क्रममा सयौँ वर्ष पुराना केही इँटा र सिक्का ९मानाङ्क०, घरको जग, भाँडाका टुक्रा फेला परेकोबारे बताउँदै आएपछि पुरातत्व विभागले उक्त स्थानमा खोज अनुसन्धान थालेको हो ।
पाँचखाल नगर क्षेत्रमा भेटिएका सम्पदा सुरक्षार्थ जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सम्पदा क्षेत्रमा ‘खनजोत’ गर्न रोक लगाएको छ । पुरातत्व विभागको परिपत्रअनुसार स्थानीय प्रशासन कार्यालयले गत मङ्सिर २९ गते सम्पदा क्षेत्रमा ‘खनजोत’ नगर्न र गर्नुपरे विभागको स्वीकृति र सहमति गराउन पाँचखाल नपालाई पत्रमार्फत जानकारी गराएको थियो ।
छ महिनाअघि खोजका क्रममा पाँचखाल नगरपालिका–१३ स्थित तेमालबेँसीमा फेलापरेको ‘स्तम्भ’ प्राचीन भएको पुरातत्व विभागले पुष्टि गरेको छ । उक्त स्तम्भ प्राचीन शिखरशैली मन्दिरको मूलद्वार अघितिर रहने दुई वटा थाममध्ये एउटा खण्ड हो भन्ने अनुमान गर्न सकिने विभागले जनाएको छ । नगरवासीले सम्वत् ४२५ मा मानदेव प्रथमको शासनकालमा पाँचखाल नपा–९ पलाञ्चोकमा स्थापित पलाञ्चोक भगवती मन्दिर रहेकाले पनि यस ऐतिहासिक क्षेत्रको खोज अनुसन्धान गरी संरक्षणको माग गर्दै आएका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ११ : ०६ बजे