९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाँचखालमा फेरि भेटियो मूर्ति


९ चैत्र २०७६, आइतबार  

0
Shares

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ साठीघरमा सडक खन्ने क्रममा दुई दिनअघि भेटिएको समुन्द्र देवताको मूर्ति नियाल्दै स्थानीय । २० इन्च उचाइ अग्लोको उक्त मूर्ति करिव चारदेखि ५०० बर्ष पूरानो हुनसक्ने बताइएको छ । यसअघि, चैत पहिलो साता पाँचखाल नगरपालिका–१ अनैकोट कोटयाङस्थित ठूलीचौरमा स्थानीय युवाले माटो खन्ने क्रममा दुई फिट अग्लो बागेश्वर मञ्जू७नतसीको मूति फेलापरेको थियो । तस्वीर ः राजकुमार पराजुली/रासस

९ चैत्र ०७६ पाँचखाल । पाँचखाल नगरपालिका–९ साठीघरमा सडक खन्ने क्रममा समुन्द्र देवताको मूर्ति भेटिएको छ । शुक्रबार भेटिएको २० इन्च उचाइको उक्त मूर्ति करिब ४०० देखि ५०० वर्ष पुरानो हुनसक्ने बताइएको छ ।
ती मूर्ति प्रारम्भिक अुसन्धानले समुन्द्र देवताको टाउकोको केही भाग फुटेको तथा करिब ४०० देखि ५०० वर्ष पुरानो हुनसक्ने पुरातत्व विभागका अधिकृत प्रकाश खड्काले जानकारी दिनुभयो । तर उक्त मूर्ति भग्नावशेषबाट बाहिर आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ढुङ्गेधाराको भग्नावशेषबाट धाराछेउमा रहेको मूर्ति हाल सडक बनाउने क्रममा बाहिर आएको हो ।”
यसअघि चैत पहिलो सातामात्रै पाँचखाल नगरपालिका–१ अनैकोट, कोट्याङस्थित ठूलीचौरमा स्थानीय युवाले माटो खन्ने क्रममा बागेश्वरी मञ्जुश्री (देवी)को मूर्ति भेटिएको थियो । दुई फिट अग्लो उक्त मूर्तिमा नेपालको प्राचीन प्रथम मुद्रा मानाङ्कसमेत अङ्कित भएकाले मध्यकालीन समयको (करिब ४०० देखि ५०० वर्ष पुरानो) भएको अधिकृत खड्काले बताउनुभयो । उक्त मूर्तिको अध्ययन गर्न गएको विभागको टोलीलाई मूर्ति नदिई हाल तामाङ समुदायले पूजा गर्न गाउँमै राखेका छन् ।
मूर्ति भेटिएका दुवै स्थानमा थप उत्खनन गर्न नदिन र पाँचखाल क्षेत्रको सम्पदा संरक्षण गर्न नगरपालिका, स्थानीय प्रशासन तथा पुरातत्व विभागसँग माग गरिएको छ । पाँचखालका सम्पदा संरक्षणका लागि स्थानीय युवाले ‘पाँचखाल पुरातत्व सम्पदा बचाउ अभियान’ नै सञ्चालन गर्दै आएका छन् ।
पाँचखाल नगरप्रमुख महेश खरेलले पाँचखाल नगर क्षेत्रमा विगत एक वर्षदेखि खोज अनुसन्धानका क्रममा सम्पदाको सम्भावना देखिइँदै आएकाले सम्पदा संरक्षणका लागि नगरले गुरुयोजना बनाएर लाग्ने छलफल भइरहेको जानकारी दिनुभयोे । “पाँचखाल ऐतिहासिक क्षेत्र प्रमाणित हुँदैछ, यसको संरक्षण, सवद्र्धन गर्नु हाम्रो दायित्व पनि हो”, उहाँले भन्नुभयो ।
उक्त क्षेत्रमा भेटिएका सम्पदा सामग्री, मूर्ति तथा स्तम्भ लिच्छवीकालीन र मध्यकालीन सम्पदा भएपछि पुरातत्व विभागले ‘जियोफिजिकल सर्भे’ (भू–भौतिकी सर्वेक्षण) गर्ने जनाएको छ । पाँचखालको सबै सम्पदा क्षेत्रमा उत्खनन सम्भव नभएकाले पहिलो चरणमा जमिनमुनि के–कस्तो भौतिक संरचना छ भन्ने पत्ता लगाउन जियोफिजिकल सर्भे गर्नु आवश्यक देखिएको विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार पाँचखाल नगर ऐतिहासिक सम्पदा क्षेत्रको सम्भावना देखिएकाले स्थानीय तह तथा अन्य कुनै निकायबाट बजेट उपलब्ध गराउन सके यसै बर्ष अन्यथा विभागमार्फत आउँदो आर्थिक वर्षमा बजेट छुट्याएर उक्त सर्भे गरिनेछ ।
महानिर्देशक गौतमका अनुसार जियोफिजिकल सर्भे मेसिनले क्षेत्र तथा जमिनमुनि सात मिटरसम्मको भौतिक अवस्था पत्ता लगाउँछ । तेमालकोट, बुचाकोट, मेथिनकोट, नगरकोट, काभ्रेकोट, सुलिकोट, अनैकोट, सल्लेकोट र भमरकोटको बीच क्षेत्रमा जमिनमुनिका सम्पदा हेर्न जियोफिजिकल सर्भे गर्न लागिएको हो । पाँचखाल क्षेत्रमा उत्खननका क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छवीकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको पुष्टि गर्दै विभागका पुरातत्वविद्द्वारा प्रतिवेदनसमेत तयार पारिएको छ ।
यसैबीच पाँचखाल नगर क्षेत्रमा भेटिएका सम्पदा सुरक्षार्थ जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सम्पदा क्षेत्रमा ‘खनजोत’ गर्न रोक लगाएको छ । पुरातत्व विभागको परिपत्रअनुसार स्थानीय प्रशासन कार्यालयले गत मङ्सिर २९ गते सम्पदा क्षेत्रमा ‘खनजोत’ नगर्न र गर्नुपरे विगागको स्वीकृति र सहमति गराउन पाँचखाल नपालाई पत्रमार्फत जानकारी गराएको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १२ : २३ बजे