२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ट्याक्सी सञ्चालनका लागि व्यवस्था मिलाउन निर्देशन


२४ असार २०७७, बुधबार  

0
Shares


–सञ्चिता घिमिरे
असार २४ ०७७, काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले ट्याक्सी सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन गरेको छ ।
समितिको आज सार्वजनिक यातायातसम्बन्धी मजदुर सङ्गठन र व्यवसायी महासङ्घका पदाधिकारीसँग कोभिड–१९ का अवस्थामा यातायात सञ्चालन गर्ने विषयमा छलफल बैठक बसेको थियो । बैठकले विश्व स्वास्थ्य सङ्गठन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कोभिड–१९ क्राइसिस मेनेजमेन्ट कमिटी (सीएमसी) ले तयार पारेको मापदण्ड पूरा गरी सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिइएको हो । बन्दाबन्दीकै समयमा स्वास्थ्य मापदण्ड पूरा गरी केही पेशा व्यवसाय सञ्चालन भइरहेकाले सोही व्यवस्थाका आधारमा अर्थतन्त्रलाई चलायमान गर्न र सर्वसाधरणलाई आवतजावत सहज गर्न निर्देश गरेको हो ।
समितिले आगामी बैठकमा सार्वजनिक यातायात सञ्चालनका विषयमा सीएसी र भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल गर्ने पनि निर्णय गरेको छ । बैठकमा मजदुर सङ्गठन र व्यवसायी सङ्गठनका प्रतिनिधिले बन्दाबन्दीका कारण मजदुरहरुको जनजीवन कष्टकर बनेको, आर्थिक सङ्कट बढेको र गुजारा चलाउन नसकेपछि आत्महत्यासम्मको अवस्था सिर्जना भएको बताएका थिए ।
गाडी नचल्दा यातायातका मजदुर आर्थिक रुपमा गा¥हो भए पनि अहिले १०७ दिन भएकाले मजदुरलाई धेरै गा¥हो भएको नेपाल यातायात स्वतन्त्र मजदुर सङ्घका अध्यक्ष भीमज्वाला राईले बताए । अहिले धेरै मजदुरको चुल्हो बाल्नै कठिन भइसकेको उनले बताए । उनले भने, “मजदुरलाई रोगभन्दा भोकले मर्ने चिन्ता भएको छ ।” नेपाल यातायात मजदुर सङ्घका धर्मराज भण्डारीले मजदुरले व्यवसायीसँग माग्ने र व्यवसायीले सरकारसँग माग्ने बताउनुभयो । चालक र यात्रु दुवैको स्वास्थ्य सुरक्षालाई ध्यान दिएर यातायात सञ्चालन गर्न सकिने उहाँको भनाइ छ ।
नेपाल ट्रक व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्रविक्रम बानियाँले बैंकले तीन महिनालाई शून्य समय मानेर ब्याज मिनाहा गर्नुपर्ने बताए । यातायात व्यवस्था विभागको भूमिका प्रभावकारी बन्न नसकेको उनले बताए । उनले भने, “विभागले दर्ता र नवीकरण बाहेक व्यवस्थापनको काम गर्न सकिरहेको छैन ।”
सार्वजनिक यातायात केन्द्रीय महासङ्घका अध्यक्ष होमप्रसाद अधिकारीले भौतिक पूर्वाधार मन्त्रालयले सडक मात्रै हेरेर यातायात बेवास्ता गरेको आरोप लगाए । उनका अनुसार सार्वजनिक यातायात सञ्चालनका लागि सरकारले मजदुरलाई स्वास्थ्य सावधानीको पोषाक व्यवस्था गर्न खाँचो छ ।
समितिका सभापति कल्याणीकुमारी खड्काले सार्वजनिक यातायातमा यात्रु बीचबीचमा चढ्ने र झार्ने भएकाले कसरी सुरक्षित रुपमा सञ्चालन गर्ने भनी छलफल हुनुपर्ने बताए । सरकार सबैको अभिभावक भएकाले व्यवसायी, मजदुर र चालक सबैको विषयमा सोच्नुपर्ने उनको भनाइ छ ।
समितिका सदस्य दुर्गा पौडेलले व्यवसायीले यातायात सञ्चालनका लागि कति सरकारले बेहोर्ने र कति व्यवसायीले बेहोर्ने भनी स्पष्ट पार्नुपर्नेमा जोड दिए । सरकारले राहत बाँडेको समय चाँडो भएको उनको भनाइ छ । उनले भने, “पहिले राहत नचाहिँदै बाँडे पनि आवश्यक पर्ने समयमा बाँडेको पाइँदैन ।”
समितिका सदस्य जिपछिरिङ लामाले व्यवसायी र सरकार बसेर यातायात सञ्चालनमा रहेका समस्या हटाउनुपर्ने बताउनुभयो । ४० सिटे बसमा २० जना राख्दा सरकारले यति बेहोर्ने र व्यवसायीले यति भनेर प्रष्ट रुपमा आउनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ८ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।