१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौ उपत्यकामा कोरोनाको उच्च जोखिम


२५ श्रावण २०७७, आइतबार  

0
Shares


२५ साउन ०७७, काठमाडौँ (रासस) ः तराईका केही जिल्लासँगै काठमाडौँ उपत्यका कोरोनाका हिसाबले उच्च जोखिममा परेको छ । काठमाडौँमा दैनिकजसो नै सङ्क्रमणदर बढ्दो रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बाहिरी जिल्लाबाट भित्रिएका मानिसमा सङ्क्रमण देखिएपछि उनीहरुमार्फत धेरैमा सङ्क्रमण हुन सहयोग गरेको छ । त्यसपछि आम जनमानसको प्रत्यक्ष सम्पर्क हुने सुरक्षाकर्मीमा सङ्क्रमण ह्वात्तै बढ्यो ।
विगतभन्दा अहिले मानिसले लापरवाही र हेल्चेक्रयाइँ गरिरहेको पाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल बताउछन् । दाहालका अनुसार व्यावसायिक प्रतिष्ठानले समेत स्वास्थ्य मापदण्ड नअनाउँदा समस्या बल्झिरहेको छ । भौतिक दूरी कायम गर्ने कुरामा समेत ध्यान कम छ । भीडभाड बढ्दो छ । यातायातमा समेत मापदण्ड प्रयोग गर्न सकिएको छैन । खुलम्खुला मानिस भित्रिरहेका छन् । यी विभिन्न कारणले उपत्यकामा कोभिड–१कोरोना भाइरस फैलाउन मद्दत गरेको स्वास्थ्यविज्ञहरु बताउँछन् ।

उपत्यकाको नाकाबाट सहजरूपमा मानिस आवतजावत हुँदा सङ्क्रमण फैलिन सहयोग गरेको हो । जसरी सङ्क्रमणदर बढ्दो छ, त्यसरी नै परीक्षणको दायरा बढाउनु आवश्यक हुने उनीहरुको भनाइ छ । शुरुआती चरणमा भारतीय सीमा क्षेत्रमा बढीे सङ्क्रमण देखिएको थियो । अहिले भारतबाट आउने क्रम न्यून भएपछि नेपालभित्रै सङ्क्रमण फैलिसकेको स्पष्ट भएको छ । आपतकालीन उद्धारमा गएका सुरक्षाकर्मीबाट पनि कोरोना भाइरस सङ्क्रमण त्रित्रिएको आशङ्का गरिएको छ ।
दुई दिनअघि काठमाडौँको हाँडीगाउँस्थित कोटालमा बस्ने एक सुरक्षाकर्मीमा कोरोना भाइरस पुष्टि भयो । परीक्षणका क्रममा उनका परिवारसहित पाँच जनाका सङ्क्रमण देखियो । उनका घरबेटीलाई समेत सङ्क्रमण भएको पाइयो । सोही टोलमा २५ जनाको परीक्षण गर्दा थप छ जनामा सङ्क्रमण भेटिएको काठमाडौँ महानगरपालिका–५ का वडाध्यक्ष रमेश डङ्गोल बताउनछन् । डंगोलका अनुसार अहिले उक्त टोललाई सिल गरिएको छ । उपत्यकाका अन्य १२० भन्दा बढी स्थानमा सङ्क्रमण देखिइसकेको छ ।
यस्तो अवस्थामा स्वयं सावधानी अपनाइएन भने नियन्त्रणका कुनै पनि उपायले काम नगर्ने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । नेपालमा गत माघ ९ गते पहिलो सङ्क्रमण देखिएको थियो । त्यसपछि चैतमा फाट्टफुट्ट देखियो । वैशाख अन्तिम सातापछि ह्वात्तै बढेको थियो । त्यो बेला क्वारेन्टिनमा बसेका मानिसमा बढी थियो भने अहिले समुदायमै देखिन थालेकाले थप जोखिम छ ।
सङ्क्रमण बढेपछि विभिन्न जिल्ला र स्थानीय तहले आ–आफ्नो क्षेत्रमा निषेधाज्ञा जारी गरेर नियन्त्रण प्रयास गरिरहेका छन् । समुदायले आफैँ सचेत भएन भने नियन्त्रण गर्न कठिन हुने चिकित्सकले बताएका छन् ।

उपत्यका प्रशासनमा अत्यावश्यकबाहेकको सेवा बन्द
काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि त्यसलाई रोक्न उपत्यकाका तीनवटै प्रशासन कार्यालयले आजदेखि सेवा बन्द गरेका हुन् । पहिलो चरणमा आगामी भदौ ८ गतेसम्म सेवा स्थगन गरिने र त्यसको अवस्थाका आधारमा पुनः अर्काे निर्णय हुने काठमाडौँका प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

लबडाउनपछि गत असार १ गतेदेखि उपत्यकाका तीनवटै प्रशासन कार्यालयले सबै सेवा नियमित गरेका थिए । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सरोकारवाला निकायका प्रमुखसहित यही साउन २३ मा बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको थियो । उपत्यकामा सङ्क्रमण जहाँ देखिन्छ, त्यसठाउँमा सुरक्षा निगरानी बढाउने र आवश्यकतानुसार स्थानीय तहले सिल गरेर सङ्क्रमणको पहिचान गरी उपचार गर्ने गरी आवश्यक व्यवस्थासमेत मिलाइएको छ ।

सरकारी निर्णयअनुसार गत असार १ गतेदेखि आवश्यक तोकिएको स्वास्थ्य मापदण्ड कार्यान्वयन गराउने, दुई मिटरको दूरी कायम गराउने र साबुनपानीले हात धुने, मास्क लगाउन अनिवार्य गरिएको र त्यसमा अटेर गरेको पाइएमा सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने प्रजिअ दाहालले जानकारी दिए ।
मुख्यगरी नयाँ नागरिकता वितरण, प्रतिलिपि वितरण, हातहतियार दर्ता र वितरण, संस्था दर्ता, पत्रपत्रिका दर्ता तथा नवीकरण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी नवीकरण, नाबालिग परिचयपत्र वितरणलगायत अत्यावश्यक नभएका सेवा हाललाई स्थगन गरिएको छ । शान्ति सुरक्षासम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी, मुद्दासम्बन्धी कार्य, अत्यावश्यक कामका लागि सवारी पास र विपद् व्यवस्थापनसम्बन्धी सेवा भने जारी रहने जनाइएको छ ।
अत्यावश्यक कामका लागि कार्यालयमा प्रवेश गर्ने सेवाग्राहीले स्वास्थ्य मापदण्ड अपनाई अनिवार्यरूपमा मास्कको प्रयोग गर्नुपर्ने, स्यानिटाइजरको प्रयोग गर्नुपर्ने वा साबुनपानीले राम्ररी हात धुनुपर्ने तथा सामाजिक दूरी कायम गर्नुपर्ने छ । उपत्यकाको केही स्थानमा सङ्क्रमण फैलिएपछि सिल गरिएको छ भने केही ठाउँलाई उच्च निगरानीमा राखिएको छ । अहिलेसम उपत्यकामा एक हजार बढी सङ्क्रमण भइरहेको छ । दैनिक ५० देखि १०० को हाराहारिमा उपत्यकामा कोरोना भाइरस संक्रमण देखिँदै आएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ११ : ३२ बजे