८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


राष्ट्रकवि घिमिरेको  निधन


२ भाद्र २०७७, मंगलबार  

0
Shares

 

२ भदौं ०७७, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । राष्ट्रकवि घिमिरेको आज(मंगलबार) साँझ लैनचौरस्थित निवासमा १०१ वर्षको उमेरमा निधन भएको हो । घिमिरे आउँदो असोज ७ गते १०२ वर्ष पुग्दै थिए । घिमिरेकोे शवलाई अहिले निवासमै राखिएको छ भने साहित्यकार र शुभेच्छुक श्रद्धाञ्जलिका लागि जाने क्रम शुरु भएको छ ।

कोरोना महामारीको जोखिम भएकाले भीडभाड गर्ने स्थिति छैन । घिमिरेको निवासमा नेपाली सेनाको टोली पनि जाने तयारी गरेको छ । राष्ट्रिकवि घिमिरेले विसं २०७२ मा त्रिभुवन विश्वविद्यालयबाट महाविद्यावारिधी र २०७४ मा नेपाली सेनाबाट मानार्थ सहायक रथीको उपाधिलगायत विभिन्न राष्ट्रिय सम्मान र पुरस्कार प्राप्त गरेको थिए ।

छोरी मञ्जु अधिकारीका अनुसार उमेरगत कारणले पछिल्ला कविवर घिमिरेका दिनमा सामान्य अवस्थ्य  थियो । घिमिरेको जीवनको अर्काे अनुपम कृति ‘ऋतम्भरा’ महाकाव्य  प्रकाशनको तयारी अवस्थामा थियो ।

ीघमिरेले महाकाव्यलाई  लगभग पूरा गरेको तर छन्द मर्मज्ञ र परिष्कारवादी कवि भएकाले पटकपटक आफैले परिष्कार गरेपछि मात्रै प्रेसमा दिने स्वभावका हुने भएकाले प्रकाशन हुन पाएको थिएन । छोरी अधिकारीले भनिन्, ‘महाकाव्यलाई अब भाइहरुले प्रकाशनमा ल्याउनेछन् । जीवन एक यात्रा हो । बुबा अब नयाँ यात्रामा प्रविष्ट हुनुभएको छ ।’

कविवर घिमिरेका पछिल्ला समयमा “बुढेससम्मन् पनि ज्यून जानँै यो जीवनीको रस प्यून जानौँ” जस्ता भावका काव्यरस प्रकाशित भएका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले पारिवारिक स्रोतबाट कविवरको निधन भएको जानकारी पाउँदा दुःख लागेको र कार्यालयबाट घर आइसकेको भए पनि आफूहरु श्रद्धाञ्जलिका लागि लैनचौरमा जान लागेको र अन्त्येष्टिका लागि नेपाल सरकारबाट हुने राष्ट्रिय सम्मानको निर्णय आएपछि थप जानकारी दिइने बताएका छन् ।

घिमिरे सय वर्ष पुगेको वर्ष मस्र्याङ्दी वाड्यमय प्रतिष्ठानले उक्त वर्षभरि जन्म शताब्दी मनाई घिमिरेको दम्पतीसहित रथारोहण र राष्ट्रियस्तरको अभिनन्दनलगायत कार्यक्रम गरेको थियो । लमजुङको पुस्तुनमा विसं १९७६ असोज ७ गते पिता गौरीशङ्कर र माता द्रौपदीका कोखबाट जेठा सन्तानका रुपमा जन्मनुभएका घिमिरेको जन्म शताब्दी र अर्धाङ्गिनी महाकाली घिमिरे ८४ वर्ष प्रवेशको अवसरमा निवासमा सहस्र चन्द्रर्शनसहित पारिवारिक र शुभेच्छुकसँगको जमघट कार्यक्रम तय गरिएको थियो ।

घिमिरेको जेठी श्रीमती गौरीको विसं २००४ मा निधनपछि उहाँले रचेको ‘गौरी’ शोककाव्य र अन्य दर्जनौँ काव्य, गीतिनाटक, कथा, यात्रा संस्मरण र अनुवाद विधामा उनका कृतिहरू लोकप्रिय मानिन्छन् । राष्ट्रकवि घिमिरेलाई नेपालमा महाकवि लक्ष्मीप्रसाद देवकोटापछिका सर्वाधिक लोकप्रिय स्रष्टा मानिन्छ । उनका ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ आदि कविता संग्र्रह प्रकाशित छन् । स्वच्छन्दतावादी र परिष्कारवादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपाली’ जस्ता कैयौँ राष्ट्रिय भावका गीत र कविताहरू जनजिब्रोमा झुण्डिएका पाइन्छन् । उहाँका श्रीमती, दुई छोरा र ६ छोरी छन् ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ९ : ०४ बजे