६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


परिणाममुखी काम गर्ने पर्यटनमन्त्रीको दृढता


१२ पुस २०७७, आइतबार  

0
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल सिंहदरबारस्थित मन्त्रालयमा आइतबार कार्यभार समाल्दै । तस्बिरः रोशन सापकोटा/रासस

१२ पुस, ०७७ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मुलुकको अर्थतन्त्रको दरिलो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई गतिशील बनाउन नीतिगत सुधारका साथ प्रभावकारी योजना अघि बढाइने बताएका छन् ।

शुक्रबार पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री ढकालले सिंहदरबारमा आज पदभार ग्रहण गर्दै मन्त्रालयको कानूनी समस्या सुल्झाउन तत्काल गरिनुपर्ने निर्णय र मन्त्रिपरिषद्मा रोकिएका तथा सरोकारवाला मन्त्रालयसँग गर्नुपर्ने समन्वय सहजीकरणका लागि पहल गर्ने बताए ।
उनले भने, ‘मन्त्री फेरिँदा झस्किनु पर्दैन, अनुशासनमा रहेर काम गर्नुस्, सबैको अभिभावकत्व ग्रहण गर्नेछु, म सपना देखाउँदिन परिणाममा विश्वास गर्छु, त्यसैले सपनामा रङ्गिनेभन्दा व्यावहारिक हुनेगरी योजना निर्माण र कार्यान्वयन हुनुपर्छ ।’

अतिरिक्त सुविधा र सेवाका निम्ति मन्त्रीप्रति कोही व्यक्ति लालायित हुनु नपर्ने उनको भनाइ थियो । स्वाभिमान र इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा कमाउनु आफ्नो राजनीतिक उद्देश्य नरहेकाले मन्त्रालयभित्रका विकास योजना आर्थिक मितव्ययी र पारदर्शी ढङ्गले अघि बढाइनुपर्नेमा उनले जोड दिए ।
उनले पर्यटन मन्त्रालय मातहत ठूला क्षेत्र, धेरै ठाउँमा थला पर्दै, पारिँदै आएकाले कसरी समाधान गर्ने भन्ने चुनौती रहेको उल्लेख गर्दै सरोकारवालासँग समन्वयात्मक ढङ्गले काम गर्दा नै सफलता हासिल हुने विश्वास व्यक्त गरे ।

मन्त्री बदलिए पनि सरकार र कार्यनीति बदलिएको छैन भन्दै मन्त्री ढकालले योजना समयमै सम्पन्न गर्ने परिपाटिको विकास गर्न मातहत निकायलाई निर्देशन दिए । उनले मुलुक चुनावी वातावरणमा गएकाले राजनीतिक रङले मन्त्रालयलाई असर नगरोस् भन्नेतर्फ सजग रहेर सेवा प्रवाहलाई चुस्त र पारदर्शी बनाइनुपर्नेमा जोड दिए ।

यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारीमा रहेका मन्त्री ढकाल पर्यटनमन्त्री बनेका हुन् ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ५ : २४ बजे