६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रतिनिधिसभा विघटन स्वीकार्य छैनः नेपाल


१४ पुस २०७७, मंगलबार  

0
Shares

१४ पुस ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभाको विघटन आफूहरुलाई स्वीकार्य नहुने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले मंगलबार भृकुटीमण्डमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले संविधानको भावना विपरीत गरिएको प्रतिनिधिसभा विघटनको कदमलाई अस्वीकार गरिने बताए ।

संविधानको प्रावधानलाई कुल्चेर यसको मर्म र भावना विपरीत प्रतिनिधिसभा विघटन गर्नु कुनै पनि हिसाबले उचित नभएको उनले बताए। संसद् विघटन संविधान, जनता, राजनीतिक दलको भावना, नेपाली जनताले गरेको क्रान्ति, परिवर्तनको आकाङ्क्षाअनुरुप तथा नेकपाको निर्णय अनुरुप छ त भनी प्रश्न गर्दै उनले भने, “यो कदम हामीलाई स्वीकार्य छैन ।”

पटकपटक प्रतिनिधिसभा विघटन भएर मुलुक स्थिरतामा प्रवेश गर्न नसकेको भनेर संविधानमा स्पष्टसँग विघटन गर्न नसक्ने प्रावधान राखिएको स्मरण गर्दै उनले संसद्भित्र प्रधानमन्त्री निर्वाचित हुन नसक्ने अवस्थामा मात्र प्रतिनिधिसभा विघटन हुन सक्ने व्यवस्था गरिएको बताए । अध्यक्ष नेपालले प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतमा पुगेको र त्यहाँबाट संविधानको मर्म र भावनानुसारको फैसला आउने विश्वास व्यक्त गरे । “मलाई पूरै विश्वास छ, संविधानको व्याख्या गर्ने जिम्मा पाएको निकायबाट संविधानको मर्म, प्रावधान, जनताको अभिमतअनुसार समुचित व्याख्या हुनेछ”, उनले भने, “प्रतिनिसभा पुनःस्थापना भइछाड्छ, हुन्छ, हुन्छ, हुन्छ ।”

प्रतिनिधिसभा विघटन भयो अब के हुन्छ भनेर कोही पनि चिन्तित हुनु नपर्ने उल्लेख गर्दै उनले सरकारको कदमविरुद्ध सडकमा उत्रिनाको विकल्प नभएको बताए ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ५ : १० बजे