११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


वाग्मती मुहान क्षेत्रमा ४०० माछाका भुरा


२५ पुस २०७७, शनिबार  

0
Shares


२५ पुस ०७७, काठमाडौं । वाग्मती सफाइ महाअभियान ४००औँ हप्ता प्रवेश गरेका अवसरमा नदीको मुहान क्षेत्र गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको सुन्दरीमाई नजिकको नदी किनारमा ४०० माछाको भुरा छाडिएको छ ।

अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको आयोजनामा भएको कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायत अभियानकर्मीले शहर र गर्दी जातिका ४०० माछाका भुरा छाड्नुभएको हो । माछाका भुरा केन्द्रीय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्र बालाजुले उपलब्ध गराएको हो । केन्द्रका मत्स्य विकास अधिकृत सुभाषकुमार झा प्राकृतिक जलाशयमा फस्टाउने जातका माछाका भुरा नै वाग्मतीमा छोडिएको बताए । यी जातका माछा नेपालका प्रायः नदीमा पाइन्छ ।

यसअघि अधिकारसम्पन्न वाग्मती समितिको संयोजन एवं वाग्मती सुन्दरता सरोकार मञ्चलगायत संस्थाको आयोजनामा सु्न्दरीजलस्थित ओखरेनी माध्यमिक विद्यालयअघिको पुलमुनिको नदी किनारमा सफाइ गरिएको थियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अधिकारसम्पन्न वाग्मतीका कर्मचारी र स्थानीयवासी गरी करिब २०० को सहभागिता थियो । कुहिने र नकुहिने फोहर वर्गीकरण गरी नगरपालिकाले व्यवस्थापन गरेको थियो । सफाइका अवसरमा नदी किनारमा सिसासमेत जथाभावी फालेको पाइएको छ ।

सफाइ एवं माछा छाड्न आयोजित कार्यक्रमपछिको सभालाई सम्बोधन गर्दै राज्यमन्त्री मानन्धरले राजधानीको सभ्यताको स्रोतका रूपमा रहेको वाग्मती नदी र यसका किनारका धार्मिक एवं सांस्कृतिक सम्पदाको संरक्षणमा सबै तहका सरकार एवं स्थानीयवासीको सहकार्य हुनुपर्नेमा जोड दिए । धार्मिकरूपमा महत्व बोकेको गोकर्णेश्वर महादेव मन्दिरको संरक्षण गर्न सरकारका तर्फबाट आवश्यक सहयोग गरिने उनको प्रतिबद्धता थियो ।

कार्यक्रममा अधिकारसम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनाले उपत्यकाका नदी किनारको अव्यवस्थित बस्ती हटाउन भूमि समस्या समाधान आयोगलगायत सरोकार भएका निकायको समेत सहयोग लिएर काम गर्न लागिएको बताए । वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले अधिकारसम्पन्न वाग्मती समितिले कार्यक्रम गर्दा सबैसँग समन्वय गर्नुपर्नेमा जोड दिए ।

अधिकारसम्पन्न वाग्मती समितिका वरिष्ठ डिभिजनल इञ्जिनीयर रवीन्द्र रायलगायतले सफाइका भावी कार्यक्रमका विषयमा जानकारी गराउनुभएको थियो । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएको थियो । वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदी, चक्रपथ, सम्पदास्थललगायत सार्वजनिक स्थानमा सफाइ अभियान चलेको छ ।

उपत्यकाबाहिर पनि मुख्य शहर एवं नदी किनारलगायत सम्पदास्थलमा पनि सफाइ अभियान शुरु भएको छ । हाल देशभर १०६ भन्दा बढी स्थानमा सफाइ अभियान भइरहेको छ । सफाइ महाअभियान जाडो, गर्मी, शीत, वर्षा, चाडपर्व, भूकम्प, कोरोना महामारीकाबीच पनि स्वास्थ्य सुरक्षाका विधि अपनाएर निरन्तररूपमा सञ्चालन हुँदै आएको छ । सफाइ महाअभियान ४००औँ हप्ता प्रवेश गरेको अवसरमा आज मीनभवन पुलस्थित वाग्मती परिसरमा पनि सफाइसहित विशेष कार्यक्रम गरिएको छ ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ६ : ३९ बजे