४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


भारतमा ३० करोड मानिसलाई कोरोना खोप दिइने


२८ पुस २०७७, मंगलबार  

0
Shares


२७ पुस ०७७, नयाँदिल्ली, (रासस–एएफपी) – भारतले कोरोनाभाइरस विरुद्धको खोप यही शनिबारदेखि आम सर्वसाधारणलाई प्रदान गर्न थाल्ने बताएको छ ।
सुरक्षा चिन्ता, कमजोर पूर्वाधार र आम जनतामा रहेको सन्देहबीच झण्डै एक अर्ब ३० करोड जनतालाई खोप दिने कार्य निकै जटिल हुनेछ ।
त्यही कारण पहिलो प्राथमिकतामा राखेर सरकारले जुलाईसम्ममा करिब ३० करोड मानिसलाई खोप दिने तयारी शुरु गरेको छ । भारत विश्वमै सबैभन्दा बढी जनसंख्या भएको दोस्रो मुलुक हो । भारतमा भन्दा चीनको जनसंख्या बढी छ ।
खोपका लागि ७ सय जिल्लामा करिब एक लाख ५० हजार कर्मचारी परिचालन गरिएको छ । उनीहरुले तालिम समेतका आवश्यक जानकारी दिइएको छ ।
भारतले आपतकालीन प्रयोगका लागि भन्दै पहिलो चरणमा तीन करोड स्वास्थ्यकर्मी तथा ५० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्ति तथा स्वास्थ्य जोखिममा रहेका २७ करोड व्यक्तिलाई खोप दिने तयारी गरेको छ ।

अधिकारीहरुले पोलियो र अर्बुद रोगसम्बन्धी बालबालिकालाई नियमित खोप दिइरहेकाले कोरोना विरुद्धको खोप लगाउन त्यति समस्या नहुने बताएका छन् ।
राष्ट्रिय खोप इन्स्टिच्यूटका सत्यजित राठले बालबालिकालाई खोप लगाउनुभन्दा कोरोना विरुद्धको खोप लगाउनु निकै जटिल र चुनौतीपूर्ण रहेको बताए ।
भारतले प्रयोगमा ल्याउन लागेका खोपहरुमा अस्ट्राजेनिकाले स्थानीय साझेदारी सेरम इन्स्टिच्यूटसँग मिलेर तयार पारेको कोभिसिल्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन रहेका छन् । यी दुबै खोपलाई चिसो ठाउँमा राख्नुपर्ने हुन्छ ।
सरकारले २९ हजार चिस्यान विन्दुहरु, २ सय ४० वटा कुलर, ७० वटा फ्रिजर, ४५ हजार रेफ्रिजेरेटर, ४१ हजार डिपफ्रिज र ३ सय वटा सोलार रेफ्रिजेरेटरको व्यवस्था गरेको छ ।
कोरोनाभाइरसको संक्रमणबाट एक लाख ५० हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । कोरोनाभाइरसका कारण भारत विश्वमै आर्थिक रुपमा सबैभन्दा बढी प्रभावित भएको छ, र लाखौं मानिसले आफ्नो रोजगारी गुमाएका छन् ।

हालै भारतका १८ हजार व्यक्तिमा गरिएको सर्वेक्षणमा झण्डै ६९ प्रतिशतले कोरोना को खोप लिन आफूहरुलाई हतारो नभएको बताएका थिए ।
सेरम इन्स्टिच्यूटले भारतमा आफूले उत्पादन गरेको खोप व्यक्ति र संस्थालाई पनि बेच्ने गरी अनुमति पाएको छ । सेरमको खोप भारतमा भारु १ हजार रुपैयाँ तोकिएको छ ।

 

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  १० : ५३ बजे