८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


चापागाँउमा चुरोटको कालोबजारी,छैन अनुगमन



ललितपुर खबर
२७ जेठ ०७८, चापागाँउ । ललितपुरको चापागाँउ बजारमा चुरोटमा कालोबजारी मौलाएको पाइएको छ ।
स्थानीय प्रशासनले कोरोना माहामारीका कारण लकडाउन गरेपछि बजारमा अभाव भएको मौका छोपेर व्यापारीहरुले चुरोटको मोल बढाएका हुन् ।
८५ रुपैयाँका विक्रि वितरण हुँदै आएको पाइलट चुरोट आजकल १०० रुपैयाँ तिरेर लिनु परेको एक उपभोक्ताले बताए । उनले भने, ‘सूर्य चुरोट प्रतिखिल्ली १५ बाट २० रुपैयाँ पुगेको छ ।’
व्यापारी भने निषेधाज्ञाका कारण बजारमा चुरोट अभाव हुँदा मोल बढेको तर्क गर्छन् । एक व्यापारीले भने,‘चुरोट ल्याउने सेल्सम्यानलाई प्रहरीले आउन दिदैन । हामी आफै सातदोवाटो गएर लयाउनुपर्छ । त्यही भएर पेटीमा ३० रुपैयासम्म बढाएका हौं ।’
चुरोट अत्यावश्यक वस्तुमा नपर्ने भन्दै प्रहरीले रोकेपछि बजारमा अभाव श्रृजना भएको र खुद्रा व्यापारीहरुले त्यसको मौका छोपेको हुन सक्ने व्यापारी बताउछन् ।
चापागाँउमै होलसेल व्यापार गर्ने अर्का व्यापारी भने बजारमा चुरोट महँगो भएपछि बढाएर बेच्नुभन्दा होलसेल बेच्नै छोडिदिएको बताउछन् । भन्छन्,‘बढाएर बेचौ भने हामी नै नराम्रो हुन्छौं । बर छैन भन्न्यो आनन्दै ।’
बजारमा ठुला होलसेलबाट ल्याएर साना व्यापारीहरुले १ हजार ६०० पर्ने पाइलट चुरोट १ हजार ७०० सम्ममा विक्री गरिरहेको एक किराना पसलेले गुनासो गरे । ‘झट्ट हेर्दा बजारमा मोल बढाउने हामी खुद्रा व्यापारीजस्तो देखिन्छ । तर होलसेलले हामीलाई पेल्छन् । बेच्नै प¥यो घाटा कसरी खानु । ’ उनी प्रतिप्रश्न गर्छन् ।
चापागाँउकै केही होलसेल पसलले मान्छेको अनुहार हेरेर चुरोट बेच्ने गरेको अर्का खुद्रा व्यापारीले गुनासो गरे । भने, ‘हामी चुरोट लिन जाँदा एउटा पनि छैन भन्छन्, अर्को व्यापारी गएर खोतल्दा चुरोट भेटिन्छ ।हाम्रै अगाडि उसले किन्छ । हामी हेर्छौ ।’
नयाँ आर्थिक वर्ष (साउन १ गते)बाट चुरोट र रक्सको भाउ बढ्ने घोषणा गरेपछि व्यावारीहरुले चुरोट लुकाउन थालेको उनको आशंका छ । भने, ‘सरकारले कति कर बढ्ने भनेर अहिले नै घोषणा गरेको छैन । बढ्छ भन्ने सबैलाई थाहा छ । अहिले लुकाएर पछि बेच्न व्यापारीले लुकाएका हुन् । अनुगमन गरे सबै भेटिन्छ ।’
गोदावरी नगरपालिकाकी उपमेयर मुनाअधिकारीले नगरपालिकाले आफ्नो नेतृत्वमा बजार अनुगमन गर्ने जिम्मा भए पनि गएको बर्षपछि अनुगमन नगरिएको बताइन् । भनिन्,‘कोरोना आएपछि हामीले बजार अनुगमन गरेका छैनौ । खाद्यबस्तुहरुको विषयमा पत्रचार भएको छ । अरु काम भएको छैन ।’

चापागाँउ मध्य तथा दक्षिण ललितपुरको मुख्य बजार हो । यहाँबाट उत्तरी मकवानपुर र काभ्रेका केही भुभागमा सामान जाने गर्दछ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ११ : ४० बजे