१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


‘महालक्ष्मी महोत्सव’मा चाउचाउ र चटपटेको व्यापार,स्थानीय उत्पादनको प्रबद्र्धन निराशाजनक



ललितखबर
८ फागुन । स्थानीय उत्पादनलाई प्रबर्धन गर्न भन्दै सुरु भएको महालक्ष्मी महोत्सवमा किरानाका सरसामान बिक्री वितरण गरिरहेको देखियो ।
सोमबार लाकुरी भञ्ज्याङमा राखिएका सबैजसो स्टलमा स्थानीय उत्पादन थिएनन् । यहाँका धेरै स्टलमा चटपटे,वियर, चाउचाउलगायतका सामान बिक्री भइरहेको थियो । आयोजक नगरपालिकाले स्थानीय उत्पादनको बिक्रि वितरण गराई समृद्धि ल्याउन असफल भएको स्थानीयहरु बताउछन् ।


लाकुरी भञ्ज्याङमा स्टलमा लेज, चाउचाउलगायत सरसामान बिक्रि गर्न स्टल राखेका टेन्सी लामा स्थानीय उत्पादन नभएको कारण किरानाका सामान बिक्रि गरिरहेको बताए । ‘रक्सी र मासु मात्रै स्थानीय उत्पादन छ । अरु त भए पो बेच्नु’ उनी भन्छन् ।
लाकुरी भञ्ज्याङका स्टलहरुमा विभिन्न ब्राण्डका वियर र जंक फुडहरु विक्री भइरहेका थिए । मेलामा आइसक्रिम क्याण्डी बेच्नेदेखि माला र खेलौना बेच्न टाढा टाढाबाट व्यापार पुगेका थिए ।
मेला हेर्न आएका भीडमा सरसामान बेच्न कतिपय स्थानीय पसलेहरुले पसलको सामान ओसारेर डाँडामा नगरपालिकाको लगानीमा निःशुल्क पाउने स्टलमा व्यापार गर्न बसेका थिए ।

फागुन ५ गतेखि ७ गतेसम्म आयोजना गरिएको मेलाको क्रममा लाकुरी भञ्ज्याङमा मात्रै होइन सिद्धिपुर र लुभुमा पनि पसलका सामान ओसारेर व्यापार गरिरहेको देखिएको थियो । मेलामा भारत र चीनलगायत देशबाट आयात गरिएको सामान समेत पसल राखेर व्यापारीहरुले बिक्री गरिरहेका थिए । सिद्धिपुरको मेलामा चीनबाट ल्याइएको विद्युतीय स्कुटरको स्टल समेत राख्न दिइएको पाइएको थियो ।


एकातिर नगरपालिका स्थानीय बस्तुको प्रबद्र्धनका लागि भन्दै ५० लाखको बजेट खर्चेर मेला आयोजना गरिरहेको छ भने नगरपालिकाको ६ नम्बर सिद्धिपुरका वडाध्यक्ष धर्म महर्जन बाहिरबाट ल्याएर सरसामान मेलामा बिक्रि गर्न पाउने बताए । उनका अनुसार १० प्रतिशत जति सामान बाहिरको बिक्रि भएको दाबी गरे । यद्यपी सिद्धिपुरमा स्थानीय सरसामानभन्दा बाहिरका सामान नै धेरै बिक्रि भइरहेको देखिन्थ्यो ।
लकुरी भञ्ज्याङमा महोत्सवमा सहभागी भइरहेका सागर लामाले डाँडापाखा बाँजो रहेको अवस्थामा महोत्सव प्रभावकारी नहुने राय व्यक्त गरे । ‘युवायुवती खाडी देशमा पैसा कमाउन गएका छन् । गाँउ रित्तो छ । उत्पादन भए पो बेच्नु र कमाउनु’ उनले गुनासो पोखे ।
महालक्ष्मी नगरभन्दा बाहिर नेपालमा उत्पादन भएका सामान समेत बिक्री गरिरहेको देखिन्थ्यो । कपडाहरु बुन्ने धेरै उद्योग रहेको लुभु क्षेत्रका सरसामानको स्टल खासै देखिएका थिएनन् । सिद्धिपुर सुकुल बुन्ने क्षेत्रको रुपमा प्रख्यात रहेको भए पनि स्थानीयहरुले सुकुलको स्टल समेत राखेका थिएनन् । परालबाट बनाइएको हस्तकलाका सामान बिक्रिका लागि भने स्टल भेटिएको थियो ।
महालक्ष्मी १० का वडाध्यक्ष विजय लामा चाउचाउ, चटपटे नराख्नु भन्दा स्थानीयले चित्त दुखाउने अवस्था रहेको स्वीकार गर्छन् । भन्छन्, उद्देश्य चाँही स्थानीय मौलिक उत्पादन बिक्रि प्रबद्र्धन गर्ने हो तर यहाँका व्यापारीहरुले बाहिरको सामान राखेर बिक्रि गरे ।
उनले यहाँको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य भएकाले पर्यटकहरुले खोजेको कुरा राख्नु बाध्यता रहेको तर्क गरे ।


महालक्ष्मी नगरपालिकाले स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्न पर्यटकीय क्षेत्रको प्रचार र कला संस्कृतीको संरक्षण र सम्बद्र्धन गर्नका लागि भन्दै ५० लाख खर्चेर इमाडोलको बोजेपोखरी, सिद्धिपुर, लुभु र लाकुरी भञ्याङमा महोत्सवको विभिन्न कार्यक्रम आयोजना गरेको हो ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ५ : ३८ बजे