३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाले अध्यक्ष ओलीले भने,‘माधव नेपाललाई पार्टीमा ठाँउ छैन’



नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली निजी निवास बालकोटबाट कार्यकर्ताको भीडलाई हेर्दै । तस्विर : रमेश गिरी\भक्तपुर

३० असार ०७८, भक्तपुर । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई अब एमालेमा कुनै ठाउँ नभएको बताएका छन् ।
आज बुधबार सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट पुगेका अध्यक्ष ओलीले आफ्ना समर्थकलाई सम्बोधन गर्दै नेता नेपाललाई पार्टीमा अब कुनै ठाउँ नरहेको घोषणा गरे ।
उनले भने, “माधव नेपाललाई अब पार्टीमा कुनै ठाउँ छैन, उनका हकमा गल्ती कमजोरी स्वीकार गर्ने र आत्मालोचना गर्ने पनि ठाउँ छैन, नेपालका पछाडि लाग्ने अरु व्यक्तिले कमीकमजोरी महसुस गरेर पार्टीको काम गर्न चाहेमा भने पार्टीले ठाउँ दिन्छ ।”
अदालतले प्रधानमन्त्री तोकेर विश्वमा कहीँ नभएको जात्रा देखाएको छ भन्दै उनले जनताको बाटो छेकेर अदालतबाट प्रधानमन्त्री तोक्ने विश्वमा कहीँ नभएको नजिर कायम गरिएको बताए । उनले भने, “जनादेशबाट होइन परमादेशबाट, काम गर्न नसकेर होइन, देशको विकास गरेर, राष्ट्रलाई एकजुट बनाएर, संविधान कार्यान्वयन गराएर, सर्वस्वीकार्य बनाएर, विकास अगाडि बढाएर अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि अगाडि बढाएर काम गर्दागर्दै जालझेल, कपट, षड्यन्त्रस्वरूप अदालतमा मुद्दा हालेर हटाइयो ।”

अध्यक्ष ओलीले सबैलाई पुग्ने खोपको व्यवस्था आफनो नेतृत्वको सरकारले गरिसकेकाले कसैलाई खोपको कमी नहुने दाबी गर्नुभयो । उनले भने, “हामीले सबै नेपालीलाई पुग्ने खोपको व्यवस्था गरिसकेका छौँ । खोपको कुनै कमी छैन, मैले हिजो नै भनेको थिएँ, खोपको व्यवस्था मैले गरिसकेको छु, विभिन्न देशबाट छिट्टै खोप आउँछ तर मैले खोप ल्याएँ भनेर कसैले भन्छ भने त्यो लाजमर्दो हुन्छ ।”
अध्यक्ष ओलीले सरकारी निवास बालुवाटार छाडेर बालकोट पुग्दा हजाराँै कार्यकर्ताले सडकमै बसेर स्वागत गरेका थिए । एमालेका केन्द्रीय सदस्य महेश बस्नेत इञ्चार्ज रहेको युवा सङ्घ नेपाल र युथ फोर्सका स्कर्टिङमा बालुवाटारबाट निस्केको ¥याली दरबारमार्ग, त्रिपुरेश्वर, माइतीघर, कोटेश्वर, कौशल्टार हुँदै बालकोट पुगेको थियो । पानीमा भिज्दै ओलीको समर्थनमा नाराबाजी गर्दै बालकोट आएको ¥यालीमा बाजागाजासहित पुष्पगुच्छा अर्पण गर्दै स्थानीयवासीले स्वागत मात्रै गरेनन्, अभिनन्दनसमेत गर्न भ्याए ।
सडकमा दायाँबायाँ हातमा फूल लिएर बसेका सयौँ नागरिकले अध्यक्ष ओलीको गाडी रोकेर फूलका थुँगा दिएका थिए । ओली निवासमा सूर्यविनायक नगरपालिकाका तर्फबाट नगरप्रमुख वासुदेव थापाले अभिनन्दन गरे । सडकदेखि घरको छतमा बसेर नागरिकले फूलका गुच्छाले स्वागत गर्नाका साथै नागरिकले अभिनन्दन गरेका थिए ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ८ : ०१ बजे