३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एकतामा आउन अध्यक्ष ओलीको आग्रह




६ साउन ०७८, ललितपुर । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक जीवन र कम्युनिष्ट आन्दोलन जोगाउनुपर्नेमा जोड दिँदै असन्तुष्ट पक्षलाई एकतामा आउन आग्रह गरेका छन् ।

केन्द्रीय कमिटीको जारी १० पूर्ण बैठकको तेस्रो दिन आज बुधबार अध्यक्ष ओलीले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै आन्तरिक एकताका लागि अन्तिम समयसम्म प्रयास गर्न आफू तत्पर रहेको बताए ।

सर्वोच्च अदालतको फैसला संसदीय व्यवस्थानुकूल नभएको टिप्पणी गर्दै जनताको चाहनालाई कुल्चेर केही नेताले गद्दारी गरेकाले आफ्नो नेतृत्वको सरकार ढलेको बताए । “मसँग अब अरु आग्रह छैन । म एकताको मोही अझै मथ्दै छु । सकभर सत्ता गठबन्धनमा लागेका सबै पार्टीका नेतालाई आफ्नो राजनीतिक जीवन बचाउन अनुरोध गर्छु”, अध्यक्ष ओलीले बैठकमा भने ।

पार्टीको नीतिविपरीत नेपाली काँग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने नेता माधवकुमार नेपालसहित २२ सांसद्लाई स्पष्टीकरण सोधेको एमालेले त्यसबारे जवाफ आएपछि निर्णय गर्ने प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी पार्टीको १०औँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओली नेतृत्वको निवर्तमान सरकारका उपलब्धि, सर्वोच्च अदालतको असार २८ गतेको फैसला पार्टीको आगामी कार्ययोजना, पार्टीको सुदृढीकरण र शुद्धीकरण अभियानलगायत विषय कार्यसूची रहेका छन् ।
आजको बैठकले संविधानको धारा ७६ (५) को सरकार बनाउँदा दलीय ह्विप नलाग्ने फैसला गरेकाले दफालाई संशोधन गर्न पहल गर्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए । बैठकले ओली नेतृत्वको सरकारले विविध चुनौतीका बीच विकास र समृद्धिका पक्षमा उपलब्धि हासिल गरेको र प्रतिपक्षमा रहेर संविधान, लोकतन्त्र र राष्ट्रियताका सम्बन्धमा सशक्त र प्रभावकारी काम गर्ने निर्णय गरेको छ । नेता ज्ञवालीले हालको स्थितिबाट निराश नहुन कार्यकर्तालाई आग्रह गर्दै पार्टीको शक्ति पुनःफर्काइने बताए । अर्को बैठक बिहीबार दिउँसो ३ बजे पुनःबस्नेछ ।
पुष्पलाल स्मृति दिवस मनाइँदै
एमालेले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाउने भएको छ । अध्यक्ष ओलीको प्रमुख आतिथ्यतामा कायक्रम आयोजना गरी मनाइने एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  १० : ०१ बजे