४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विचार, सिद्धान्त र वर्गप्रति समर्पित हुनु अहिलेको आवश्यकताः प्रचण्ड




२ भदौं ०७८, काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इमानदार कम्युनिस्टको एकता अहिलको आवश्यकता भएको बताएका छन् ।
शहीद रामवृक्ष यादवको २७ औँ स्मृति दिवसका अवसरमा बुधबार माओवादी केन्द्रको पेरिसडाँडामा रहेको पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भर्खरै सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले पार्टी पुनर्निर्माण गर्ने सङ्कल्प गरेको बताए ।

माओवादी शान्ति सम्झौता प्रक्रियामा आएपछि क्रान्तिकारी चरित्र, संस्कार बिर्सिँदै गएको गुनासो आएकाले यसकाविरुद्ध आफैँ आत्मसमीक्षा गर्ने, सङ्कल्प गर्ने आवश्यकता रहेकामा
अध्यक्ष दाहालले जोड दिए । उनले भने, ‘हामी सबै पद, तिष्ठामा ध्यान दिने व्यक्तिवादी भएका छौँ, यसमा समीक्षा गनुपर्ने भएको छ, विचार, सिद्धान्त र वर्गप्रति समर्पित हुनु अहिलेको आवश्यकता हो ।’

अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनमा गएर विचारलाई अझ परिमार्जन, परिष्कृत गर्ने, महाधिवेशनसम्म गएर त्यसलाई थप समृद्ध गर्ने तयारीमा पार्टी रहेको जानकारी दिए ।
उनले भने, ‘हामीले आफ्नो औचित्य सिद्ध गर्न सकेनौँ भने विघटन र विसर्जनको भुमरीमा पर्ने सम्भावना छ तर हामी त्यस्तो हुन दिने छैनौँ, शहीदहरूको योगदानको बलमा अन्तिम समयसम्म हामी लड्नेछौँ ।’ उनले कम्युनिस्ट पार्टीहरूबीच एकताको झण्डा र राष्ट्रिय एकताको झण्डा उठाउने सङ्कल्प आफूहरूले गरेको जनाउँदै कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्दै, सबै खाले टुटफुटविरुद्ध उत्रिन आवश्यक रहेकामा जोड दिए ।

कम्युनिस्ट पार्टीभित्रै विभिन्न नकारात्मक प्रवृत्ति रहेको उल्लेख गर्दै उनले भने, ‘सम्पूर्ण उपलब्धिलाई धराशयी पार्ने प्रवृत्ति कम्युनिस्ट पार्टीभित्रबाट देखापर्‍यो, त्यसलाई हामीले प्रतिगमन भन्यौँ, त्यो प्रतिगमन अहिलेलाई पराजित भएको छ, हामीले त्यसकाविरुद्ध निर्मम ढङ्गले सङ्घर्ष र विद्रोह गर्नुपर्ने स्थिति देख्यौँ र विद्रोह गर्‍यौँ ।’

कार्यक्रममा अध्यक्ष प्रचण्डले शहीद रामवृक्ष यादवको स्मरण गर्दै यादव विचारमा प्रस्ट, सिद्धान्तमा निष्ठावान्, आन्दोलनमा समर्पित, सबैसँग मिलनसार, मृदुभाषी, बहुआयामिक व्यक्तित्व रहेको बताए । तराई, मधेशको सर्वमान्य नेताका रूपमा स्थापित हुँदै अघि बढ्नुभएका यादवको जनयुद्धको तयारीका क्रममा हत्या भएको र त्यस बेला पार्टीलाई ठूलो क्षति पुगेको उनले बताए ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले शहीद यादवको व्यक्तित्वको चर्चा गर्दै कम्युनिस्ट आन्दोलनमा उहाँको योगदान सदा स्मरणीय रहने बताए ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ३ : ०० बजे