४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


माधव नेपालतिर लागेपछि गृह जिल्लामै कमजोर बने खनाल




५ भदौ ०७८, इलाम । पार्टी विभाजनमा माधवकुमार नेपाललाई साथ दिएका पूर्व प्रधानमन्त्री झलनाथ खनाल गृह जिल्ला इलाममा थप कमजोर भएका छन् ।
खनालको सचिवालयले उनी नयाँ गठन हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पक्षमा रहेको सार्वजनिक गरेको छ । खनालका समर्थकहरुले त्यसको चर्को आलोचन गरिरहेका छन्।
खनालले तत्कालिन नेकपाको विवादका बेला गृहजिल्लाका समर्थक गुमाएका थिए। पार्टी विभाजनपछि खनालले आफ्नो पक्षमा रहेका कार्यकर्ताको साथसमेत गुमाएका हुन् । नेकपाको आन्तरिक कलहमा प्रचण्डको पक्षमा उभिएका नेता खनालले प्रदेशसभा सदस्य र स्थानीय तहका नेताको सथर्मन गुमाएका थिए ।
त्यसबेला खनाललाई माई नगरपालिकाका मेयर दिपक थेवे, चुलाचुली गाँउपालिका अध्यक्ष प्रदिपचन्द्र राईले छाडेर ओली कित्तामा लगेका थिए। त्यस्तै उनकै निर्वाचन क्षेत्रबाट प्रदेश सभामा निर्वाचित काजिमान कागतेले पनि खनालको साथ छाडेका थिए । त्यस्तै एमाले जिल्ला अध्यक्षसमेत रहेका राम राना पनि खनाल नेपाल समूहबाट बाहिरिएर ओली कित्तामा उभिएका थिए ।

खनाललाई इलामको सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई, माइजोगमाई गाउँपालिका अध्यक्ष जीतबहादुर राई र सन्दकपुर गाउँपालिका अध्यक्ष उदय राईले समर्थन गर्दै आएका थिए । पार्टी विभाजनको पक्षमा खुलेपछि सन्दकपुर गाउँपालिका अध्यक्ष राईलेसमेत उनलाई छाडेका छन् । एमालेको नेतृत्व खराब भए पनि पार्टी खराब नभएको भन्दै राई पार्टी विभाजनको बिपक्षमा उभिएका हुन् ।
सन्दकपुर गाउँपालिकाकी उपाध्यक्ष सोभा पराजुलीले नेकपाकालिन विवादको बेलाबाटै खनाललाई छाडेकी हुन् । सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले एक वर्षअघि पार्टीभित्रको विवादकै बेला आफू जहाँ सूर्य चिन्ह रहन्छ, त्यहाँ रहने भनेर घोषणा गरेका थिए । तर अहिले उनीसमेत विभाजनको पक्षमा खुलेका छैनन् ।
माइजोगमाई गाउँपालिका अध्यक्ष जेवी राई भने खनालको पक्षमा वकालत गर्ने गरेकाले उनी पार्टी विभाजनमा खनाल जता लाग्छन् उतैलाग्ने सम्भावना छ । प्रदेशसभा सदस्य खिनु लङवा लिम्बु पनि विभाजनको पक्षमा खुलेर उभिएकी छैनन् । तर उनले खनाललाई साथ दिने सम्भावना रहेको पार्टी निकट श्रोत बताउँछ । इलाममा १० स्थानीय तहमध्ये तीन स्थानीय तहमा कांग्रेसको नेतृत्व छ ।
तीनमध्ये रोङ गाउँपालिकामा भने कांग्रेसले अध्यक्ष र उपाध्यक्ष नै जितेको छ । फाकफोकथुम र माङसेबुङ्गमा उपाध्यक्ष एमालेले जितेको थियो । ती दुई उपाध्यक्ष पहिलेदेखिनै ओली कित्तामा थिए । अन्य सात पालिकाका उपाध्यक्ष समेत पार्टी विभाजनमा खनालको पक्षमा छैनन् । एमालेले प्रदेशसभामा तीन सिट जितेको छ । एउटा माओवादी केन्द्रले जितेको थियो ।
तीन मध्ये दुईले खनाललाई साथ दिएका छैनन भने एक जना अहिलेसम्म खुलेकी छैनन् । पार्टी संगठनभित्र पनि खनाललाई साथ दिनेको संख्या कमजोर छ । विगतमा खनाललाई सघाउँदै आएका जिल्ला कमिटि उपाध्यक्ष भक्त केसी अहिले मौन छन् । नेकपा विवादकै क्रममा खनाल पक्षका धेरैले कित्ता परिवर्तन गरेका थिए । खनाल उपचारका क्रममा भारतमा छन् ।

 

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ७ : ५८ बजे