११ पुस २०८२, शुक्रबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भक्तपुरमा एकीकृत समाजवादी झन्डै निल, वडाध्यक्षदेखि सांसदसम्म एमालेमा




१६ भदौ ०७८,भक्तपुर । भक्तपुरमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी निकै कमजोर देखिएको छ । एमालेबाट विभाजन भई एकीकृत समाजवादी गठन भए पनि भक्तपुरमा अधिकांश वडाअध्यक्षदेखि सांसदसम्म मूल पार्टीमै बसेका हुन् ।
दुई संघीय निर्वाचन क्षेत्र, चार प्रदेश निर्वाचन क्षेत्र, जिल्ला समन्वय समिति र चारवटा स्थानीय तहमा एमाले पहिलो पार्टी रहे पनि एकीकृत समाजवादी झन्डै निलको अवस्थामा छ ।
चार वर्ष अघि स्थानीय तहको निर्वाचनमा एमालेबाट र संघको निर्वाचनमा वाम गठबन्धन (एमालेतर्फ) बाट विजयी भएका भक्तपुरका वडाध्यक्षदेखि सांसदले पार्टी विभाजनमा केपी शर्मा ओली नेतृत्वको एमालेलाई साथ दिएका हुन् ।
भक्तपुरमा प्रतिनिधिसभा सदस्यका लागि दुई निर्वाचन क्षेत्र छन् । जसमा निर्वाचन क्षेत्र नम्बर १ बाट एमाले नेता महेश बस्नेत र २ बाट नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल संघीय सांसद छन् । बस्नेत एमाले अध्यक्ष ओलीका विश्वास पात्र मानिन्छन् । उनले तल्लो कमिटीका नेता, कार्यकर्तालाई मूल पार्टीमै ल्याएका छन् ।
चार प्रदेश निर्वाचन क्षेत्रमा एमाले अगाडि
भक्तपुरमा प्रदेशसभाका चार निर्वाचन क्षेत्रमा तत्कालीन वाम गठबन्धनले तीन सिट जितेको थियो । वाम गठबन्धनबाट जित्नेमा १ ‘क’ बाट हरिशरण लामिछाने तथा २ ‘क’ शशीजंग थापा र ‘ख’ बाट राजेन्द्रमान श्रेष्ठ थिए । १ ‘ख’ बाट नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाइँले जितेका थिए ।
तर, लामिछानको हृदयघातबाट निधन भएपछि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका कृष्णलाल भडेलले चुनाव जितेका थिए ।
अहिले एमाले, माओवादी केन्द्र ब्यूतिएका मात्र छैनन्, एमाले विभाजन भएर एकीकृत समाजवादी पनि गठन भइसकेको छ । तत्कालीन नेकपाका तीन प्रदेशसभा सांसदमध्ये श्रेष्ठ मात्र नेपाल नेतृत्वको समाजवादीमा लागेका छन् । बाँकी दुई सांसद एमालेमै छन् ।
स्थानीय तहमा पनि एमालेकै पल्लाभारी
भक्तपुरका चार स्थानीय तहमा पनि एकीकृत समाजवादी कमजोर छ । तत्कालीन एमालेबाट निर्वाचित स्थानीय तहका प्रायः जनप्रतिनिधि मूल पार्टीको पक्षमा लागेका हुन् ।
मध्यपुर थिमिका मेयर मदनसुन्दर श्रेष्ठ तथा चाँगुनारायण नगरपालिकाका मेयर र उपमेयर क्रमशः सोमप्रसाद मिश्र र विणा बास्तोला एमाले नेता हुन् । सूर्यविनायकका मेयर बासुदेव थापा र उपमेयर जुना बस्नेत पनि एमालेबाट निर्वाचित हुन् । उनीहरूले मूल पार्टीमै रहेको बताएका छन् ।
बस्नेतले सानैदेखि एमालेबाट राजनीति गरेकाले पार्टीको विचारधारा, सिद्धान्त, मार्गनिर्देशनअनुसार चल्ने न्युज कारखानालाई बताइन् । मिश्रले पनि पार्टी विभाजन भए पनि सधैँ पाटीकै मार्गनिर्देशनमा रहने बताए । चाँगुनारायणका नौ वडामध्ये ३, ४, ६ र ८ का वडाध्यक्ष एमालेका छन्, जो मूल पार्टीमै छन् ।
सूर्यविनायक नगरपालिकामा १० वडा छन् । तीमध्ये तीन कांग्रेस र सात एमालेबाट निर्वाचित वडाध्यक्ष छन् । त्यसमा सातै वडाध्यक्षले ओलीलाई साथ दिएका छन् । मध्यपुर थिमिमा नौवटा वडामा एमालेबाट ५ का अमृतमान श्रेष्ठ मात्र एमालेका हुन् । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल र उपप्रमुख सरिता कुँवर पनि एमालेमै छन् । न्युज कारखानाबाट

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  १० : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।