४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


तुइन घटनालाई थामथुम पार्न खोजियो : एमाले




१७ भदौ ०७८,काठमाडौं । नेकपा (एमाले)ले जयसिंह धामी तुइन घटनाका सम्बन्धमा बुझाइएको प्रतिवेदन अस्पष्ट रहेको बताएको छ ।
एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आज विज्ञप्ति जारी गर्दै धामी तुइन घटनाका सम्बन्धमा बुझाइएको प्रतिवेदन हेर्दा सरकारले यस घटनालाई थामथुम गर्ने प्रयासमा लागेको देखिएको बताएका छन् ।
धामीको सम्बन्धमा गृह मन्त्रालयका सहसचिव जर्नादन गौतमको संयोजत्वमा गठित छानविन समितिले गत १५ भदौमा गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको थियो ।
‘आफ्नो नागरिक बेपत्ता पारिएको यति संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कूटनीतिक पहल गर्न नसक्ने सरकारले नेपाली जनताको ध्यान यस घटनाबाट अन्यत्रै मोड्न खोजेको आशंका पैदा भएको छ’, ज्ञवालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
नागरिकको जीवनसँग जोडिएको गंभीर विषयमा सरकारले प्रदर्शन गरेको संवेदनहीनता र लाचारीप्रति खेद व्यक्त गर्दै एमालेले उक्त घटनाको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न, दोषीलाई कारबाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गरेको छ ।
१५ साउन २०७८ मा महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले तुइन चुँडाइदिएर दार्चुलाको व्यास गाउँपालिकाका– २ का जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए । उनी बेपत्ता भएको एक महिनापछि छानविन समितिले प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदनमा उक्त घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा भएको देखिएकाले निजहरूको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कानुनी कारबाही गर्न र धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्ने उल्लेख छ ।
साथै, उनका परिवारलाई सरकारका तर्फबाट पालनपोषण र शिक्षा–दीक्षाको व्यवस्थापन गर्न समितिले सरकारलाई सिफारिस पनि गरिएको छ । न्युज कारखाना

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  ६ : ५४ बजे