५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


‘गायकहरुले रोयल्टीको पैसा पाएकै छैन’



निशा देशार, नेपाली गजल संगीतकी चर्चित गायिका हुन् । ‘तिम्रो मेरो चर्चा चल्छ’ र ‘जमाना खराव छ’ जस्ता लोकप्रिय गजलकी गायिका निशाका ४ सयभन्दा धेरै गीतहरु नेपाली संगीत बजारमा आइसकेका छन् । लोक संगीत र भजन र नेपाल भाषाको गीत संगीतमा उत्तिकै दख्खल राख्ने निशासँग उनको संगीत जीवनका उतारचडावका बारे हामीले भिडियो संवाद गरेका छौं । यही भिडियो संवादका सम्पादित अंश :

तपाईको साँगेतिक यात्रा कसरी सुरु भयो ?
घरमा साँगेतिक वातावरण थियो । मेरो काका गायक तथा संगीतकार हुनुहुन्थ्यो, प्रेमबहादुर देशार । उहाँले रेडियो नेपालमा भजन,आधुनिक र लोक गीतहरु रेकर्ड गराउनु भएको थियो । उहाँ गीत गाउनु हुन्थ्यो । घरमा माहोल संगीतमय हुन्थ्यो । वाजे डाफा, भजन मण्डलहरुमा गाँउने, घरमा संगीत सिकाउनु हुन्थ्यो । यसरी नै मेरो रुचि गीत संगीततर्फ बढ्दै गयो, बच्चेदेखि । २०५८ सालबाट मैले काठमाडौंको जमलमा डोरेमे संगीत स्कूलमा संगीत सिके । त्यसपछि मैले त्यही बेला नेपाल भाषा र नेपाली गजल रेकर्ड गराए ।
त्यो बेलाको साँगेतिक वातावरण कस्तो थियो ?
वाल्यकालमै मैले धेरै संगीत सिक्ने बुझ्ने अवसर त पाइन । म ७\८ बर्ष हुँदा काका वित्नुभयो । संगीतको वातावरण भएको घरमा निराशापन धेरै बर्ष भयो । त्यसपछि संगीत सिक्ने वातारण भएन । १५\१६ बर्ष भएपछि म रेडियोमा आउने कार्यक्रममा फोन गरेर साँगेतिक कार्यक्रमहरुमा लाइभ गीत गाउन थाले ।
त्यसबेला तपाईलाई संगीतका शिक्षकले कसरी गीत संगीत सिकाउथे ?
मैले मेरो संगीतका पहिलो गुरु मेरो काका प्रेमबहादुर देशारलाई नै मान्छु । उहाँसँग मैले सारेगम सिकेको हुँ । औपचारिक संगीत गुरुहरु भानुभक्त ढकाल, गुरुदेव कामत,रविनदास श्रेष्ठ र इश्वर अमात्यसँग सिकेको हुँ । त्यसबेला संगीत सिक्ने वातावरण अहिलेभन्दा भिन्न थियो । संगै बसेर यो गर त्यो गर यसरी उच्चरण गरेरै सिकाउनु हुन्थ्यो ।
संगीत जीवनका संर्घणका दिनहरु कसरी सम्झनु हुन्छ ?
म चापागाँउ बस्थे । यहाँबाट जमलसम्म जान आउन चार घण्टा लाग्थ्यो । एक घण्टाको संगीत सिक्न चार घण्टा खर्च हुन्थ्यो । गीत संगीत सिक्न जाँदा त्यस बेला मेरो दिनै वित्थ्यो । अरु केही काम गर्न पाउदैन थिए ।
तर पनि मलाई रमाइलो लाग्थ्यो । गुरुहरुसँग बसेर गीत गाउन पाउने, आफूलाई राम्रो लाग्ने गीतहरु सुनाउन पाउने,विभिन्न रेकडिङ स्टुडियोहरु भिजिट गर्न पाउने, भ्वाइस टेष्ट दिन रेडियो नेपाल जान पाउदा मलाई रमाइलो लाग्थ्यो । संर्घषमा पनि रमाइलो थियो । त्यो सम्झदा मैले धेरै दुः ख पाए जस्तो लाग्दैन ।
पहिलो गीत गाउदा त्यसबेलाका संर्घष कस्ता थिए ?
मैले पहिलो गीत गाँउदा बेला क्यासेट चक्काको चलन थियो । त्यसपछि सिडि आयो । सिडि बनाउन धेरै खर्च लाग्थ्यो । पाइरेसी भएन भने खर्च उठ्थ्यो । लगानी भएको सबै पैसा नउठे पनि रमाइलो पनि लाग्थ्यो ।
तपाईका सफल गीतहरु कस्ता थिए ?


२०६७ सालमा मेरा गजलहरु निस्के । त्यसपछि ती गजलहरु चल्यो । अहिलेसम्म भजन,नेपाल भाषा,आधुनिकलगायत ४ सय गीतहरु रेकर्ड भए । मैले वाह वाह पाएको गीतहरु गजल नै हो । मलाई धेरैले मेरो स्वरलाई गजल सुवाएको,गजललाई न्याय गर्न सकेको भनेर प्रतिकृया पाएको छु । धेरै दर्शक श्रोताले गजल नै मन पराई दिनु भएको छ । गजलले नै मलाई स्थापित गराएको छ ।
तपाईको गीतहरुमा कस्ता किसिमका विविधता छन् ?
समय अनुसार चल्नु पर्ने रहेछ । त्यो कुरा मैले पुरा गर्न सकिरहेको छैन । पछिल्लो समयमा सामाजिक सञ्जालहरु प्रयोग गरेर नयाँ नयाँ गायकहरुले राम्रो गरिरहनु भएको छ । मैले युटयुव च्यानल निशा देशार खोलेर राख्न मिल्ने गीतहरु राखेको छु । विस्तारै यस क्षेत्रमा अघि बढ्ने सोच बनाइरहेको छु ।
यो सन्दर्भमा कोरोना माहामारीमा तपाईको करिअरमा असर परेको हो ?
कोरोनाले मलाई र संगीत क्षेत्रलाईसँगै मात्र असर पारेको छैन सबैलाई असर परेको छ । यो दुई बर्ष धेरै गाह्रो भयो । विस्तारै कार्यक्रमहरु हुन थालेको छ । रेकर्डिङ पनि भइरहेको छ । अव राम्रो हुँदै जान्छ होला ।
अव कस्ता गीतहरु आउदैछन्?
मेरा धेरै गीतहरु बजारमा आउदैछन् । भजन,नेपाल भाषाका गीतहरु लगायत धेरै गीत आउदैछन् ।
तपाईलाई  आफले गाएको मन पर्ने गीत कुन हो ?
मलाई आफूले गाएको सबै मन पर्छ । श्रोता र दर्शकले मन पराएको तिम्रो मेरो चर्चा चल्छ’ र ‘जमाना खराव छ’ जस्ता गीतहरु धेरै ठाँउमा गाउनु पर्छ । गाउदा गाउदै मलाई पनि मन पर्छ ।
तपाईलाई आफै मोडल बन्न मन छैन ?
आफै मोडल बनेर आफ्नो गीतमा अभिनय गर्नु धेरै राम्रो कुरा हो । यो पहिलेदेखि नै हुनु पथ्र्यो । गायक गायिकाहरुले धेरै मेहनत गरेर गाएको गीतबाट हामी गायकलाई चिनिरहेका छैनन् । मोडलहरु गीतमा अभिनय गरेर अघि आइरहेको हुन्छ । अहिले गीत गाउने गायक, संगीत भर्ने संगीतकार, लेख्ने गीतकारलाई कसैले चिन्दैन । अहिलेको अवस्थामा सर्जकहरु गीतकार,संगीतकार र गायकले आफैले अभिनय गरेर अगाडि आएर धेरै राम्रो भइरहेको छ ।
तपाईले आफैले गाएको गीतमा तपाईको परिचय हराएको र मोडल चाँही चर्चित भएको घटना छ ?
मैले गाएको गीतहरुको भिडियो बनेर आएपछि मोडल चिनिएको तर म नचिनिएको केही घटना छन् । केही समय अघिसम्म गीतमा मोडलले नै गाएको भन्ने दर्शक श्रोताले सोचेको पनि थिए । संगीत क्षेत्रमा र मोडलिङ जगतमा गायक गायिका प्राथमिकतामा नपरेको जस्तो लाग्थ्यो ।
गीत गाउने तपाई हो र भन्ने प्रश्न मलाई पनि भोगेको छु । यो गीत गाउने तपाई हो र भनेर सोध्ने पनि धेरै छन् ।
मैले आफ्नो गीतमा आफैले मोडलिङ गर्ने विषयमा सोचेको छु । आफूले गाएको गीतमा गायकले भन्दा अरुले न्यान गर्न सक्दैन । नराम्रो गीतलाई पनि माडलिङमार्फत माथि पुर्याइरहेको देखेको छु । उहाँहरुलाई म एकदमै सम्मान गर्छु ।
तर गीत जति राम्रो छ त्यसको पाँच प्रतिशत पनि नउठाउने पनि देखेको छु । बरु हामी त्यस्तो किसिमको भिडियो नै बनाउनु हुँदैन । गीतको भाव नै विग्रने गरेर भिडियो बन्ने गरेको छ ।
गीतको भावना नै विग्रने गरेर भिडियो आउने मैले धेरै नै भोगेको छु । म माफी माग्न चाहन्छु जति पनि मेरो गीतमा आवद्ध हुनु भएको छ । मेरो धेरै गीतमा यस्तो भएको छ । मेरो गीतको भिडियो न्याय भएकै छैन । कतिपय गीतमा मैले गाएको भन्दा पनि धेरै राम्रो भिडियो बनेर आएको पनि छ ।
तर धेरैजसो मेरो चलेको गीतको भिडियोमा दर्शकलाई निराश पारेको छ ।
तपाईले गाएको गीत चल्नुमा भिडियोको भूमिका थिएन भन्न खोज्नु भएको हो ?


मेरो गीतको सवालमा भिडियो आउनुभन्दा अघि नै चलि सकेको थियो । जस्तो तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ भिडियो बनेकै छैन । अहिलेसम्म पनि बनेकै छैन । तर पनि राम्रो थियो शायद । जमाना खराव छ भिडियो बनेर त्यती चलेको छैन । यो भिडियो बनेर भन्दा पनि भिडियो नबन्दै चलेको हो ।
गीत गाएर रोयल्टीबापत पैसा कति कमाउनु भयो ?
युटयुवबाट पनि मैले अहिलेसम्म कुनै पैसा पाएको छैन । अरु ठाँउबाट पनि रोयल्टीको पैसा पाएको छैन । युट्युवमा गीत हालिएको छ । तर कसरी के तरिकाले हालेको हो । कुनै पैसा पाएको छैन ।
रोयल्टी वापत कति पनि पैसा पाउनु भएको छैन ?
मैले कान्तिपुर एफएमबाट रोयल्टीवापत पैसा लिएको हो । उहाँहरुले नै फोन गरेर बोलाउनु भएको थियो । अरु ठाँउबाट कतैबाट पनि पाएको छैन । पहिला त रेडियो नेपालले गीत गाउने बेला दिने गरेको थियो । मैले ३ सय रुपैयादेखि पारिश्रमिक लिएको थिए ।
सिडीको जमानामा चाँही के हुन्थ्यो ?
सिडिको जनामामा जति सिडि विक्यो त्यती राम्रो हुन्थ्यो । दशैतिहार नयाँ बर्षमा हामी बसन्तपुरमा स्टल राखेर बेच्थ्यौं । सिडि बेच्नेभन्दा पनि रमाइलाको लागि गरिन्थ्यो । मेरो यो गीत आएको छ श्रोतालाई जाननकारी दिने भन्नका लागि । हामीले पहिले देखि नै यसो गथ्र्याै ।
सिडीको समयमा धेरै पाइरेसी हुन्थ्यो । सबैले कपि गर्ने मोवाइलमा साइवरबाट बेच्ने गर्थे । हामीले आफ्नो गीत चल्ने लोभले हामी चुप लाथ्यौं ।
एकतिर हामीलाई खुशी लाग्थ्यो । मेरो गीत पनि चल्यो है भन्ने लाग्थ्यो । अर्कोतर्फ मेरो मेहनत गरेको काम अरुले बेचेर खाइरहेका छन् जस्तो लाग्थ्यो ।
समय अनुसार गीतको चलन चल्तीहरु फरक भइरहेको छ । पप गीत हुँदै र्यापको जमाना आइसक्यो ।

तपाईले आफूलाई समय अनुसार आफूलाई ढाल्ने कोसिस गर्नु भएको छैन  ?
समय अनुसार आफूलाई त्यसरी नै लैजानु पर्छ भन्ने कुरा पनि ठिक छ । तर अहिले मैले गाईरहेको गीत नयाँ आउनेले गाउन सक्दैन । सक्छ, मेहनत गरेपछि ।
तर पनि समय सँगसँगै परिवर्तन भएरै गाउनु पर्छ भन्ने छैन । सदावाहार गीतहरु गाउदा पनि राम्रो हुन्छ । अहिले मैले गाइरहेको गीत सदावाहार हो । कहिले पनि मर्दैन । नारायण गोपाल तारादेविले गाएको सधै सुनिन्छ ।
पप स्टायलको गीत पनि गाएको छु । र्याप पनि सुन्छु । र्याप गाउदा एकै छिनमा नयाँ नयाँ शव्द श्रृजना गर्ने कुरा मन पर्छ ।
र्याप गीतको जस्तो पनि शव्द राखेर गाएदा विवाद पनि आइरहेको छ नि ?
असहज हुने शव्दहरु गाएको अलिकती मन पर्दैन । त्यसलाई शव्दमा चाँही ध्यान दिनु जरुरी छ ।
संगीत भनेको सबैलाई आनन्द दिने किसिमको हुनु पर्ने हो । कतिपय शव्द संस्कृति भन्दा धेरै पर गएर गाइरहेको जस्तो लाग्छ । कतिपय मौलिक संस्कृतीभन्दा धेरै पर छ ।  कुनै कुनै गीत विकृति ल्याउने किसिमले आइरहेको छ ।
भाइरल हुने र भाइरल भएर कमाउने संस्कृती बढेको हो ?
अहिलेको अवस्थामा त्यस्तै छ । भाइरल हुनका लागि पनि त्यसो गरेको हो जस्तो लाग्छ । शायद यसरी नेपाली गीत संगीत चल्दैन होला । आज छ भोली छैन हुन्छ । राम्रो गीत नै सदावाहार हुन्छ ।
गीत संगीतमा लागेर कुन कुन पुरस्कार  र अवार्ड पाउनु भएको छ  ?
मैले धेरै पुरस्कार अवार्ड पाएको छु । छिन्नतला प्रतिभा पुरस्कार, फत्तेमान स्मृति प्रतिभा पुरस्कार, नारायण गोपाल युवा पुरस्कार, दान्यहिरा पुरस्कार पाएको छु । इमेज अवार्ड, विन्दवासीनी अवार्ड,कालिका एफएम अवार्ड, राष्ट्रिय प्रतिभा पुरस्कार पाएको छु । खुशी लाग्छ । जिम्मेवारी थपिएको महसुस हुन्छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ६ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।