२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विरोधकाबीच प्रतिनिधिसभामा अध्यादेश पेश, राष्ट्रियसभाको दोस्रो बैठक पनि स्थगित   




२३ भदौ ०७८,काठमाडौं । प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को विरोधका बीच गृहमन्त्री बालकृष्ण खाँणले ‘राजनीतिक दलसम्बन्धी अध्यादेश, २०७८’ पेश गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले उक्त अध्यादेश पेश गर्न समय दिएका थिए ।

प्रतिनिधिसभाको नवौँ अधिवेशनको पहिलो बैठकमै प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का अवरोध सुरु गरेपछि यसअघिका दुई बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको थियो । सभाको अर्काे बैठक यही भदौ २५ गते शुक्रबार दिउँसो १ बजे बस्नेछ ।

यसैबीच राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोध र नाराबाजीका कारण दोस्रो बैठक पनि स्थगन भएको छ । प्रतिपक्षको निरन्तरको नाराबाजीका कारण अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक अन्त्य गरेका हुन् । पहिलो बैठक पनि प्रमुख प्रतिपक्षको अवरोधका कारण अन्त्य भएको थियो ।

दोस्रो बैठक सुरु भएको घोषणा गर्नासाथ प्रतिपक्ष दलका सांसद उठेर निरन्तर विरोध जनाएपछि अध्यक्ष तिमिल्सिनाले अर्काे बैठक यही भदौ २५ गते दिनको १ बजे बस्ने गरी आजको बैठक स्थगन गरे । आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ सदनसमक्ष पेश गर्ने कार्यसूची थियो । सदन नभएका बेला जारी भएको अध्यादेश सदन खुलेपछि पहिलो बैठकमा पेश गर्ने परम्परा छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ६ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।