५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री देउवाको गठबन्धन




२४ भदौ ०७८,काठमाडौं । सत्तारूढ गठबन्धन दलहरू सरकारलाई पूर्णता दिने अन्तिम तयारीमा रहेका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले मन्त्रिपरिषद् विस्तारका लागि विहीबार बिहानैदेखि छलफल चलाएका थिए । मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा आज सत्तारुढ गठबन्धन दुई भिन्नाभिन्न बैठकमा बसेका थिए ।
विहीबार बिहानदेखि मन्त्रिपरिषद् विस्तारका लागि सत्तारुढका शीर्ष नेता बैठकमा सहभागी भएका थिए । जसपाका अध्यक्ष उपेन्द्र यादवको निवासमा यादवसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल भएको थियो ।
त्यसपछि विहीबार अपराह्न पनि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासहित प्रचण्ड, नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलबीच छलफल भएको थियो । यस बैठकमा भने जसपाका अध्यक्ष यादव अनुपस्थित थिए ।
छलफलमा चाँडै नै सरकारलाई पूर्णता दिने विषयमा सहमति भएको नेकपा (एस)का नेता मेटमणि चौधरीले जानकारी दिए । ‘भरसक आज शुक्रबार नै मन्त्रिपरिषद् विस्तार हुन्छ । नभए २८ भदौमा सर्वोच्च अदालतको निर्णय आएपछि सरकार पूर्ण हुनेछ’, चौधरीले भने । एमालेले तत्कालीन एमालेका १४ जना सांसदलाई कारबाहीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेको छ । यस रिटको सुनुवाइ २८ भदौमा तोकिएको छ ।
कांग्रेस सभापति देउवा गत २९ असारमा प्रधानमन्त्री नियुक्त भएका थिए । उनको मन्त्रिपरिषद्मा अहिले कांग्रेसबाट दुई मन्त्रीसहित एक राज्यमन्त्री र माओवादीबाट दुई जना मन्त्री छन् ।
एकीकृत समाजवादी पार्टीमा एमालेका जनप्रतिनिधिले सनाखत गरिसकेका हुनाले अब मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गर्न नहुने गठबन्धनबीच सहमति भएको छ ।
सत्तारुढ दलको अर्को बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ । न्युज कारखाना

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ७ : २१ बजे