११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमालेको अवरोधका बीच राष्ट्रिय सभाबाट दुई विधेयक पारित



११ असोज ०७८, काठमाडौं । प्रमुख प्रतिपक्षी दलको अवरोधका बीच राष्ट्रिय सभाले बजेटसँग आश्रित दुई विधेयक पारित गरेको छ । राष्ट्रिय सभाको सोमबारको बैठकले विनियोजन विधेयकसँग आश्रित आर्थिक विधेयक, २०७८ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ पारित गरेको हो ।

राष्ट्रिय सभाको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले बैठकमा अवरोध गरेका थिए । एमालेका सांसदहरू राष्ट्रिय सभा अध्यक्षले बैठक सुरु गरेसँगै सिटबाट उठेर विरोध गरेका थिए ।

एमाले सांसद परशुराम मेघी गुरुङले प्रतिपक्षले उठाएका माग समाधानका लागि सत्तापक्षबाट कुनै पहल नभएको भन्दै विरोध जारी रहने जानकारी दिएका थिए । अध्यक्ष तिमिल्सिनाले प्रश्न उठाएपछि बसेर सदन नियमित अगाडि बढाउन आग्रह गरेका थिए । तर, एमाले सांसदले सिटबाट उठेर विरोध कायम राखेपछि अध्यक्षले बैठकको कारबाही अगाडि बढाएका थिए ।

अध्यक्ष तिमिल्सिनाले दुवै विधेयकमाथिको छलफका लागि प्रस्ताव राख्न अर्थमन्त्री जनार्दन शर्मालाई समय दिएका थिए । कुनै पनि सांसदले दफावार छलफलमा भाग नलिएपछि प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएका विधेयक निर्णयार्थ प्रस्तुत गरिएका थिए । दुवै विधेयक बहुमतसहित पारित भएका थिए ।

राष्ट्रिय सभाले दुवै विधेयक पारित भएको सन्देश प्रतिनिधिसभालाई पठाएको छ । ती सन्देश सोमबार दिउँसो २ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखले सुनाउने र त्यसपछि प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनेछन् । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐन कार्यान्वयनमा जानेछन् ।

राष्ट्रिय सभाको अर्को बैठक असोज १७ गते १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  १ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।