५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गृहजिल्ला डडेल्धुरा पुगेर प्रधानमन्त्री देउवाले भने, ‘राहतको पहल चाँडै हुन्छ’



४ कार्तिक ०७८, डडेल्धुरा । सुदूरपश्चिमका पहाडी जिल्ला डोटी र बझाङ पुगेर गृहजिल्ला डडेल्धुरा पुगेरका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र पहिरापीडितका लागि चाँडै राहतको व्यवस्था गर्ने बताएका छन् ।
आइतबारदेखि लगातार परेको वर्षाका कारण सुदूरपश्चिमका विभिन्न जिल्लामा धेरै धनजनको क्षति भएको छ भने सडक, बाटोघाटोका साथै पाक्नै लागेका धानबाली र अन्य पशुचौपायाका साथै अन्नबालीसमेत नष्ट गरेको छ । सुदूरपश्चिममा यसै साता भएको वर्षाले भएको क्षतिको विवरण लिन अर्थमन्त्रीसहितको भ्रमणमा प्रभावित जिल्ला पुग्नुभएका प्रधानमन्त्री देउवालाई स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, पत्रकारहरुले जिल्लाका समस्याका बारेमा कुरा राखेका थिए ।
तीन दिनको अविरल वर्षाका कारण जिल्लामा दुई जनाको पहिरामा परी ज्यान गएको छ भने दर्जनभन्दा बढी मानिस घाइते भएको जिल्ला समन्वय प्रमुख गणेशराज भट्टले प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए । प्रधानमन्त्री भएपश्चात् पहिलोपटक गृहजिल्ला आएका प्रधानमन्त्री देउवाले प्राकृतिक घटनाबाट पुगेको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले मृतक र घाइते परिवारका साथै धनजनको क्षति भएका परिवारलाई चाँडै राहतको व्यवस्था गर्ने बताए ।

सुदूरपश्चिम अवलोकन भ्रमणमा रहेका प्रधानमन्त्री देउवा गृहजिल्ला डडेल्धुरा पुगी आजै कञ्चनपुरका लागि निस्केका छन् । बाढी पहिरो प्रभावित क्षेत्र बझाङको थलारा, चैनपुर, डोटीको दिपायल, बैतडीको ढुङ्गाड निरीक्षणपछि उनी गृहजिल्ला डडेल्धुरा आइपुगेका हुन् । सदरमुकाम नजिकै रहेको अमगरगढी नगरपालिका १ दहस्थित सैनिक ब्यारेकमा यहाँका जनप्रतिनिधिसँग ब्रिफिङ लिएपछि उनी जोगबुढाको अवस्था अवलोकन गरी प्रधानमन्त्री देउवा कञ्चनपुर हिँडेका हुन् ।
जोगबुढाबाट प्रधानमन्त्री देउवा कञ्चनपुरको महेन्द्रनगर, दोधारा, चाँदनी र कैलालीको धनगढी जानेछन् । धनगढीबाट उनी शुक्रबार काठमाडौँ फर्किने कार्यक्रम छ । अविरल वर्षाका कारण सुदूरपश्चिममा ३० जनाको मृत्यु भइसकेको छ भने २४ जना अझै बेपत्ता छन् । यस्तै बाढीपहिरामा परेर १६ जना घाइते भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।

 

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ९ : २९ बजे