७ पुस २०८२, सोमबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


‘पाटन दरबारको जग्गा पुरातात्विक बगैँचाका रुपमा अघि बढाउनु पर्छ’



भण्डारखाल बगैचा ।

२९ कात्तिक ०७८, ललितपुर । वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशीले पाटन दरबार पछाडिको खाली भागलाई पुरातात्विक बगैँचाका रुपमा अघि बढाएर सो महत्वका वस्तुको प्रदर्शन गर्न जरुरी रहेको बताएका छन् ।
दरबार सङ्ग्रहालय विकास समितिको २४आँै वार्षिकोत्सवका अवसरमा आजसोमबार उनले पाटन मूर्त तथा अमूर्त सम्पदाले भरिपूर्ण क्षेत्र रहेकाले यस बगैँचा व्यवस्थापन गरी पुरातात्विक वस्तुको प्रचारप्रसार गर्नुपर्ने बताए । उनले भने, “सङ्ग्रहालयभित्र त्यसै थन्किएर रहेका मूर्ति तथा शिलापत्र आदिको महत्व दर्शाउन जरुरी छ ।” सो बगैँचा बनाउँदा छरिएर रहेका संस्कृतिको संरक्षण हुनाका साथै कला अनि पर्यटनको विकासमा टेवा पुग्ने उहाँको धारणा थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले पाटन सङ्ग्रहालय दक्षिण एसियाको महत्वपूर्ण क्षेत्रका रुपमा गणना भइरहँदा सो बगैँचा निर्माणका लागि गृहकार्य गरिने बताएका छन् । उनले भने, “यस बगैँचाको सहयोगमा अदृश्य रुपमा रहेका सम्पदाको खोजी गरी उजार गर्न सकिन्छ ।”
सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले सङग्रहालयभित्र प्रदर्शन नगरी थन्क्याइएका लगभग एक हजार सात सय वस्तु बगैँचाको सहयोगमा प्रदर्शन हुन पाउने बताए । हाल तीन सयभन्दा बढी वस्तु यो सङ्ग्रहालयभित्र प्रदर्शनीमा राखिएको छ । पुरातात्विक महत्वका वस्तुको उचित संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यका साथ शताब्दी पुरुष जोशीले बगैँचाको अवधारणा अघि बढाएको हो । यो अवसरमा सङग्रहालयभित्र १४औँ देखि १७औँ शताब्दीसम्मका ढुङ्गाको प्रस्तरको मूर्तिसमेत प्रदर्शनी गर्नाका साथै सङग्रहालयको मुखपत्र विमोचन गरिएको थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  १० : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।