६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाले अध्यक्षमा डा. रावलको उम्मेदवारी घोषणा   



फाइल तस्बिर

५ मंसिर ०७८, काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष डा.भीमबहादुर रावलले पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेवारी घोषणा गरेका छन् । नेता रावलले आज पत्रकार सम्मेलन गरी पार्टीमा १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन १३ को सहीरूपमा पालना नभएकामा आलोचना गर्दै मुलुकका सामु विद्यमान चुनौतीको सामना गर्न लागिपर्ने गरी उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशन पार्टीलाई एकताबद्ध, सुसङ्गठित र समयका चुनौतीहरुको सामना गर्नसक्ने गरी क्रियाशील तुल्याउन तथा गत असोजमा सम्पन्न विधान महाधिवेशनबाट पार्टीको विधानलगायतका राजनीतिक र सङ्गठनात्मक दस्तावेजहरु पारित भए पनि त्यसमा उल्लिखित विषयहरुलाई प्राथमिकीकरण गर्दै कार्यान्वयन गर्न तद्नुकूलको नेतृत्व अपरिहार्य हुने बताए ।

“पछिल्लो समय उत्पन्न अन्तरद्वन्द्वको व्यवस्थापनका लागि पनि मैले पार्टी अध्यक्ष र अन्य नेताहरुसँग अनेकौँ पटक वार्ता गर्नाका साथै मध्यस्थको समेत भूमिका निर्वाह गरेँ तर आफ्नो अख्तियारीको सीमाबन्धन र निर्णयाधिकारी अरू नै भएकाले वाञ्छित परिणाम हासिल गर्न सकिएन,” नेता रावलले भने, “एमाले सक्षम बनिरहोस् भन्ने भावनाका साथ मतभेद, द्वन्द्व र कटुताका सबै अवरोधहरुलाई बेवास्ता गर्दै म पार्टी एकताको पक्षमा र विभाजन तथा फुटको विपक्षमा उभिएको छु । यो कुनै पनि प्रकारको व्यक्तिगत स्वार्थ नराखी जनता र देशको उज्यालो भविष्य र सुरक्षाको एक मात्र लक्ष्य हृदयमा राखेर नै सम्भव भएको थियो । सिद्धान्तनिष्ठ, विधि र पद्धतिसम्मत किसिमले सञ्चालित तथा जनता र देशको सर्वोपरि हितमा समर्पित सशक्त एमाले मेरो चाहना हो ।”

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ५ : ३८ बजे