९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


न्हूःछेँबहाबाट हराएकाे ६ सय वर्ष पुरानो बुद्धको मूर्ति अमेरिकामा भेटियो



२१ मंसिर ०७८, काठमाडौं । नेपालबाट झण्डै ४० वर्ष पहिले चोरी भएको बुद्धको मूर्ति अमेरिकामा फेला परेको छ । कम्तीमा ६ सय वर्ष पुरानो (१३–१५ औँ शताब्दीको) भगवान बुद्धको ढुंगाको मूर्ति अमेरिकाको न्यूयोर्कमा रहेको तिब्बत हाउसको संग्रहमा फेला परेको हो।
‘लस्ट आर्टस् अफ नेपाल’ ले मंगलबार जारी गरेको सूचनामा काठमाडौँको ओमबहालस्थित न्हूःछेँबहाबाट सन् १९८० को दशकमा चोरी भएको बुद्ध अक्षोभ्यको मूर्ति तिब्बत ग्यालरीमा पहिचान भएको हो।

तिब्बती धर्मगुरु दलाई लामाको आग्रहमा तिब्बतका प्राचीन कला–संस्कृति तथा सम्पदाको संरक्षण तथा प्रदर्शनका लागि तिब्बत हाउस स्थापना भएको हो।

सोही तिब्बत हाउसको संग्रहमा ओमबहालबाट ८० को दशकमा चोरी भएको बुद्धको मूर्ति पहिचान भएको हो।

ओमबहालमा रहेको बुद्ध मूर्तिको तस्बिर कला अनुसन्धानकर्ता उलरिक भोन स्क्रोडरले खिचेका थिए। सो तस्बिर नेपाली ढुंगाका मूर्तिसम्बन्धी उनको हालै प्रकाशित पहिलो संस्करणको दोस्रो भाग पुस्तकमा समेटिएको छ। पुस्तकमा रहेको बुद्धको मूर्तिको तस्बिर र हाल तिब्बत हाउस युएसको संग्रहमा रहेको मूर्ति त्यही रहेको खुलेको हो।

उलरिकको पुस्तकमा बुद्धको मूर्ति १३ औँ शताब्दीको उल्लेख छ, तर तिब्बत हाउसमा भने १५ औँ शताब्दीको भनिएको छ।

उलरिक भोनले दुई भागमा प्रकाशित गरेको ‘नेप्लिज स्टोन स्कल्प्चरस्’ नामक पुस्तकको पहिलो भागमा हिन्दू देवदेवी तथा मठमन्दिरमा रहेका मूर्ति र दोस्रो भागमा बुद्धिस्ट गुम्बा तथा बिहारमा रहेका मूर्तिहरु समेटिएका छन्।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  १० : ५७ बजे