२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भक्तपुरको इन्द्रायणी मन्दिरमा सयौँ वर्ष पुराना सामग्री चोरी



१४ माघ ०७८, भक्तपुर । मध्यपुरथिमि नगरपालिका ४ मा रहेको इन्द्रायणी मन्दिरबाट आज सयौँ वर्ष पुराना महत्वपूर्ण सामग्रीहरु चोरी भएको छ । मन्दिरको भण्डारमा रहेका सामानहरु दुई वटा ताल्चा फुटाएर चोरी भएको स्थानीय साँस्कृतिक एवं नाच गुरु अर्जुन श्रेष्ठले जानकारी दिएका छन् ।
मन्दिरको भण्डारबाट सयौँ वर्ष पुराना बाजाहरु भुस्या १२० जोर (४० वटा), छुस्या एक जोर, झ्याली एक जोर, पाः बाजा एक जोर चोरी भएको उनले जानकारी दिए । त्यसैगरी मन्दिरको सयौँ वर्ष पुरानो शङ्ख, शालिकसहितको आरतीलगायतका सामग्रीहरु चोरी भएको उनले जानकारी दिएका छन् ।
महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले मन्दिरमा सयौँ वर्ष पुराना बाजालगायतका सामानहरु चोरी भएको जानकारी दिँदै आजैदेखि अनुसन्धान गरी चोरी भएका सामान र गिरोहको खोजी भइरहेको बताए ।
केही दिन अगाडि पनि वडा नं ४ कै इनालाक्षीको राज गणेशको मन्दिरमा रहेका दियोहरु चोरी भएको थियो । मन्दिरबाट धमाधम चोरी हुन थाले पनि चोर भने अझै पक्राउ नपरेको साँस्कृतिक गुरु श्रेष्ठको भनाइ छ । पछिल्लो समयमा भक्तपुर, ललितपुरलगायतका ठाउँका मन्दिरबाट मूर्ति र बहुमूल्य सामग्री चोरी गर्ने गिरोहनै सक्रिय भएको हुनसक्ने उनको आशङ्का छ ।

 

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ९ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।