८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


स्थानीय तह निर्वाचनमा केन्द्रित हुने माओवादी निर्णय




२३ फागुन ०७८, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आसन्न स्थानीय तह निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह निर्वाचनमा सम्पूर्ण शक्ति लगाउने निर्णय गरेको हो ।
बैठकले दुईमहिने निर्वाचन केन्द्रित कार्यक्रम बनाएको छ । बैठकले केन्द्रीय सदस्यको कार्यविभाजन गरेर सबै सदस्यलाई प्रदेश, जिल्ला र पालिकामा केन्द्रित गर्ने निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिएका छन् । बैठकले स्थानीय निर्वाचनमा आवश्यक चुनावी तालमेलको वातावरण बनाउन केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा कार्यदल बनाउने निर्णय गरेको छ । कार्यदलले सम्बन्धित तहमा वार्ता संवाद गर्नेछ ।
माओवादीले ७५३ पालिका र छ हजार ७४३ वडामा एकल रूपमै भए पनि निर्वाचन लड्ने निर्णय गरेको पनि उनले जानकारी दिए । “आफ्नै खुट्टामा उभिएर, आफ्नै शक्तिमा भर गरेर निर्वाचनमा जाने निर्णय भएको छ”, नेता पुनले भने, “जहाँजहाँ अन्य दलसँग तालमेल गर्न सकिन्छ त्यहाँत्यहाँ गठबन्धन गर्ने गरी कार्यदल बनाएर निर्वाचन लड्ने बैठकको निर्णय छ ।”

बैठकले पार्टी विधानअनुसार ९७ जना केन्द्रीय सदस्यको मनोनयन गरेको छ । यस्तै २५ प्रतिशतमा नबढ्ने गरी वैकल्पिक केन्द्रीय सदस्य चयन गर्ने निर्णय गरेको छ । बैठकले आगामी केन्द्रीय समिति बैठकबाट पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो टुङ्ग्याउने निर्णय गरेको नेता पुनले जानकारी दिए ।
व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट अनुमोदन भएको एमसिसी सम्झौतालाई लिएर आएको मतभेदलाई सम्मानजनक ढङ्गले पार्टी केन्द्रीय समितिमा दर्ज गरिराख्ने र आगामी जेठ २० गते बस्ने अर्को केन्द्रीय समिति बैठकमा छलफल गरेर टुङ्गोमा पुग्ने निर्णय भएको उनको भनाइ छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  १० : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।