
४ चैत ०७८, काठमाडौं । यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा शुक्रबार दर्ता गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र लाइसेन्स परीक्षाको नतिजा फेरबदल गरेको आरोप लगाउँदै उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
अख्तियारले तत्कालीन यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्की पोखरामा कार्यरत निमित्त कार्यालय प्रमुख शाखा अधिकृत पौडेल, शाखा अधिकृत हरिप्रसाद गौतम, अधिकृतस्तर आठौं भरतराज काफ्ले, अधिकृतस्तर सातौं प्रेमप्रसाद श्रेष्ठ, अधिकृतस्तर छैठौं डिल्लीराम बराल, कम्प्युटर अधिकृत छैठौं होमनाथ शर्मा, कम्प्युटर अपरेटर करार झलक पौडेल, कम्प्युटर अपरेटर ९करार० मोहनमणि सुवेदी र अधिकृतस्तर आठौं भरतमणि बरालविरुद्ध आरोप पत्र दायर गरेको छ ।
उनीहरूले २०७५ मंसिर र २०७६ साउनदेखि मंसिर महिनामा सञ्चालन गरिएका सवारी चालक अनुमतिपत्रको परीक्षामा अनुत्तीर्ण तथा अनुपस्थित परीक्षार्थीहरूलाई उत्तीर्ण गर्ने र उत्तीर्ण भएकाहरूलाई अनुत्तीर्ण गरी प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गरेको अख्तियारको आरोप छ ।
अनुत्तीर्ण भएका १६६ जनालाई उत्तीर्ण गराएको र उत्तीर्ण भएका दुई जनालाई अनुत्तीर्ण गराएको पुष्टि भएकाले आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।







प्रतिक्रिया