८ आश्विन २०८१, मंगलबार | Wed Sep 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चैत २५ गते काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने राप्रपाको तयारी



काठमाडौं । चैत ७ गते
अहिले सम्पुर्ण राजनीतिक दलहरु स्थानीय तहको चुनावमा केन्द्रित भएका छन् । आगमी ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि शीर्ष नेताहरु देश दौडाहामा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि हाल चुनावी दौडमा छ । स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै राप्रपाले यहि चैत २५ गते काठमाडौंको खुलामञ्चमा आमसभा गर्न लागेको हो । पार्टीको बागमती प्रदेश समितिको आयोजनामा हुने आमसभालाई राप्रपाले शक्ति प्रदर्शनको रुपमा तयारी गर्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताउनु भएको छ ।

आमसभाका लागि प्रदेश अध्यक्ष विक्रमबहादुर थापाको संयोजकत्वमा ५ सय ५५ सदस्यीय आयोजक समिति गठन भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका अध्यक्ष सहसंयोजक रहेको समितिमा केन्द्रीय सदस्य आशा लामा सदस्य सचिव छन् ।समितिमा बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका अध्यक्ष, बागमती प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्य, प्रदेशभित्रका भातृ संगठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारी, सदस्य, प्रतिनिधिसभा, प्रदेशसभा, महानगर, नगर र गाउँपालिकाका अध्यक्ष पनि छन् ।

आमसभालाई प्रभावकारी बनाउन उपसमिति पनि गठन गरिएको प्रवक्ता श्रेष्ठले बताए । उपाध्यक्षहरु ध्रुबबहादुर प्रधान, रोशन कार्की र हेमजङ्ग गुरुङको उपस्थितिमा आइतबार मुल समितिको पहिलो तयारी बैठक बसेको थियो । निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न पार्टीका केन्द्रीय नेतृत्व नै जिल्ला जिल्लामा पुग्ने क्रम चलिरहेको छ । राप्रपाले गत मंसिरमा सम्पन्न महाधिवेशनले राजेन्द्र लिङ्देनलाई अध्यक्ष चयन गरेको थियो । लिङ्देनले आइतबार मात्रै भक्तपुर, काठमाडौं र ललितपुरमा आयोजित छुट्टाछुट्टै तीनवटा सभालाई सम्बोधन गरेर सोमबार सुनसरीको चक्रघट्टीमा हुने सभामा सहभागी हुन त्यसतर्फ लागेका छन् ।

 

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ७ : ५३ बजे