
७ चैत्र ०७८, मोरङ । मोरङको लेटाङ नगरपालिका–५ मा प्रहरी जवान उर्मिला श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा पाँच जना पक्राउ परेका छन् । लेटाङ–५ को शिक्षा विकास माविका एक १४ वर्षीया छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको भनिएको घटनाबाट सिर्जित तनावमा झडप हुँदा जवान श्रेष्ठको आइतबार मृत्यु भएको थियो ।
जवान श्रेष्ठको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । हत्यामा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी प्रमुख तथा एसपी जनार्दन जिसीले जानकारी दिएका छन् ।
उनीहरुमाथि सोधपुछको काम भइरहेको प्रहरीले जानकारी दिएको छ । गत शुक्रबार एक छात्रालाई होली खेल्ने क्रममा शिक्षक मनोज पौडेलले दुव्र्यवहार गरेको आरोप लागेको थियो ।
दुव्र्यवहारको आरोप लागेका शिक्षक पौडेललाई आइतबार प्रहरीको जिम्मा लगाउने तयारी थियो । त्यसबारेमा स्थानीय र शिक्षकहरुबीच छलफल समेत भएको थियो । तर आक्रोशित भीडले शिक्षकलाई नै आक्रमण गर्न सक्ने अवस्था आएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरी टोली घटनास्थल आएर शिक्षकलाई आक्रमण हुनबाट जोगाएको थियो ।
त्यसपछि भीड झनै आक्रोशित हुँदा झडप भएको थियो । आक्रोशित भीड मध्येका केहीले जवान श्रेष्ठमाथि घाँटीमा धारिलो हतियार प्रहार गरेको थियो ।







प्रतिक्रिया