९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


नागार्जुनको इन्द्रायणी मन्दिरबाट मूर्ति चोरी, २ जना पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

६ वैशाख ०७८, काठमाडौं । नागार्जुन नगरपालिका ७ स्थित इन्द्रायणी मन्दिरबाट सोमबार बिहान चोरिएका मूर्तिहरुसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका १४ कलंकी खड्कागाउँ बस्ने सिन्धुली दुधौली नगरपालिका ४ डाँकाबजार घर भएका ३० वर्षीय उमेश खड्का र धादिङ धुनीवेशी नगरपालिका ४ घर भएका ५६ वर्षीय कान्छा मगर रहेका छन् ।
नागार्जुन नगरपालिका ६ फस्कुस्थित सडकमा एकजना पुरुष व्यक्तिले बोराभित्र चोरीका सामानहरु बोकी हिँडिरहेको सूचनापछि प्रहरी बृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उमेश खड्कालाई चोरीका मूर्ति लगायतका सामानहरु सहित प्रहरीले पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा उक्त मूर्तिहरु इन्द्रायणी मन्दिरबाट कान्छा मगर समेतको मिलेमतोमा चोरी गरेको खुल्न आएपछि कान्छा मगरलाई समेत काठमाडौं महानगरपालिका १५ सितापाइलाबाट प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार उनीहरूको साथबाट तामाको कलश ३ थान, अर्ग १ थान, पित्तलको सानो घण्टी १ थान, सेतो शंङ्ख १ थान, माटोको गणेशको मूर्ति १ थान, शिवलिङ्ग २ थान, सिल्भरको शिव, पार्वती र गणेशको मूर्ति २ थान, किटको शिव, पार्वती र गणेशको मूर्ति १ थान, श्रीकृष्णको मूर्ति १ थान, शिवको मूर्ति १ थान र दुर्गा माताको मूर्ति १ थान प्रहरीले बरामद गरेको छ ।
उनीहरूलाई चोरी तथा डाँका गर्न नहुने कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद अनुमति प्राप्त गरी प्रहरीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ६ : ५६ बजे