६ पुस २०८२, आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रहरीको गोली लागेर २० वर्षीया युवतीको मृत्यु, छानबिन समिति गठन



२४ जेठ ०७९, काठमाडौँ । मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणको माग गर्दै सडकमा उत्रिएका स्थानीयमाथि प्रहरीले बर्दियामा गोली चलाएको छ। गोली लागेर बर्दियाको मधुवन नगरपालिका २ स्थित आरोली बजारमा एक युवतीको मृत्यु भएको छ।

बर्दियाको खाता जैविक मार्ग क्षेत्रमा बाघसहित वन्यजन्तुको आक्रमण बढेको भन्दै सोमबार दिउँसो स्थानीयले गुलरिया–राजापुर सडक खण्डको ओराली बजारमा सडक बन्द गरेका थिए। स्थानीयले अवरुद्ध गरेको सडक खुलाउन परिचालन भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानीयमाथि बल प्रयाग गर्दा घटना भएको हो।

घटनामा मधुवन नगरपालिका २ की करिब २० वर्षीया नविना थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । उनी १२ कक्षाकी विद्यार्थी भएको स्थानीयले बताएका छन्।
बाघ नियन्त्रणको लागि बर्दिया राष्ट्रिय निकुञ्ज र वन कार्यालयको टोली परिचालन भइसकेको र वार्ताको तयारी हुँदै गर्दा घटना भएको हो ।

स्थानीयको ढुंगा प्रहारबाट १८ जना प्रहरी घाइते भएका छन्। घाइतेमध्ये प्रहरी हवल्दार पार्वता खड्काको अवस्था गम्भीर छ। उनलाई उपचारको लागि नेपालगञ्ज लगिएको छ। प्रदर्शनमा उत्रिएका स्थानीय दुई जना घाइते भएका छन्। उनीहरुलाई पनि गोली लागेको स्थानीयले बताएका छन्।

यसैबीच गृह मन्त्रालयले थारूको मृत्यु भएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति बनाएको छ । मन्त्रीस्तरीय निर्णयबाट सहसचिव हरि घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

सो समितिलाई काम सुरु गरेको मितिले सात दिनभित्र घटनाका सम्बन्धमा स्थलगत रूपमा छानबिन गरी प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक बेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव खड्का सदस्य छन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  २ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।