१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सात वर्षमा पनि कालोपत्र भएन जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक



२ भदौं ०७९, काठमाडौं । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक बिस्तार सुरु भएको सात वर्षमा पनि पूरा नहुँदा धुलोले स्थानीयवासीको स्वास्थ्यमा समस्या हुन थालेको छ । काम सुरु भएको भएको सात वर्षमा पनि सम्पन्न हुन नसक्दा घाम लागेका बेलामा धुलो र पानी परेका बेलामा हिलोले त्यस क्षेत्रमा समस्या हुने गरेको छ । धुलो यस क्षेत्रमा वायु प्रदूषण पनि हुने गरेको छ । निर्माण भइरहेको धुलाम्य सडकमा निर्माण व्यवसायीले पानी पनि हाल्दैनन् ।

गोकर्णेश्वर नगरपालिका वडा नं १ कारखानाका श्याम लामा आफ्नो घरअघि सधैँ पानी हाल्छन्। सडकको धुलो उडेर घरमा बस्न नसकिने भएपछि पानी हाल्नुपरेको उनले सुनाए । धुलोले नाक पोल्ने, घाँटी खसखसाउने समस्या हुने गरेको लामाको गुनासो छ ।

आर्थिक वर्ष २०७५/२०७६ मै सक्ने गरी विसं २०७२ मै ठेक्का भएको सात किमी सडक सात वर्षदेखि अलपत्र छ । सुरुमा सडकको दायाँबायाँ घर भएका स्थानीयवासीले मुआब्जा नदिइ काम अघि बढाउन नदिने भनी विरोध गरेपछि बिस्तार हुन सकेको थिएन । केन्द्रबिन्दुबाट दायाँबायाँ ११÷११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले गरेको थियो । यो सडकको मापदण्ड विसं २०४५ मै काठमाडौँ उपत्यका विकास प्राधिकरणले केन्द्रबिन्दुबाट दायाँबायाँ ११÷११ मिटर गरी २२ मिटरको हुने भनी सूचना प्रकाशन गरेको थियो ।

सात किमीको दूरीमा पर्ने करिब नौ सय घरका धनीले ठेक्का अनुसार बिस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रबिन्दुबाट दायाँबायाँ सात÷सात मिटर बिस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११÷११ मिटर नै बिस्तार गर्ने सहमति भएको नगरपालिकाले जनाएको छ । यो सहमतिअनुसार पनि ठाउँ ठाउँमा काम रोकिँदा वर्षौंदेखि स्थानीयवासी र यात्रु हिउँदमा धुलो र वर्षामा हिलोले पीडित छन् ।

नगरपालिकाले केन्द्रबिन्दुबाट दायाँबायाँ सात÷सात मिटर बिस्तार गर्ने सहमति गरेको तीन वर्षसम्म पनि सडक अलपत्र छ । आर्थिक वर्ष २०७६÷२०७७ मा सक्ने सहमति कार्यान्वयन नभई थप गरिएको दुई वर्षमा पनि काम सकिएन ।

आर्थिक वर्ष २०७८/२०७९ को अन्त्यसम्ममा काम सक्ने गरी म्याद थपिएको थियो । त्यो अवधिमा पनि काम सकिएन । ५८ करोड लागतमा भइरहेको काममा बेलाबखत समस्या आउने गरेकाले काममा ढिलाइ भएको बिस्तार आयोजनाका अधिकारीले बताउने गरेका छन् ।

सङ्घीय सरकारले गरेको ठेक्का भएकाले निर्माण व्यवसायीले स्थानीय सरकारले छिटो काम गर्न गरेको अनुरोधलाई पनि वास्ता नगर्ने गरेको गोकर्णेश्वर नगरपालिका वडा नं ८ का पूर्ववडा अध्यक्ष मनोजकुमार ढुङ्गानाको भनाइ छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  २ : ५५ बजे