१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंका फुटपाथका व्यापारीको माग, दसैँसम्म व्यापार गर्न पाउँ



काठमाडौंको काटेश्वरको फुटपाथ व्यापार । फाइल तस्विर

२९ भदौ ०७९, काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्र फुटपाथमा व्यापार गर्ने व्यवसायीले दशैँसम्म आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न दिन माग गरेका छन् ।
काठमाडौँ महानगरपालिकाको प्रमुखका रुपमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृतरुपमा निर्माण गरिएका संरचना र फुटपाथ व्यवसाय हटाउन सुरु गरेसँगै फुटपाथ व्यवसायी भने दसैँ मुखमा आएको भन्दै दसैँसम्म व्यवसाय गर्न दिन नगरपालिकालाई आग्रह गरेका हुन् ।
काठमाडौँको माछापोखरी सडकको किनारामा विगत ३० वर्षदेखि कपडा बेच्दै आउनुभएका नुवाकोटका बलराम भेटवालले दसैँको समयमा काम गर्न दिन आग्रह गरे । “हामी महानगरपालिकालाई सहयोग गर्न तयार छौँ, हामीले किनेर ल्याएको कपडा दसैँ अगाडिसम्म बिक्री गर्न दिइयोस्”, उनले भो ।
भक्तपुरका भरत बस्नेत विगत ३३ वर्षदेखि माछापोखरीमा लत्ताकपडा बिक्री गर्दै आएका छन् । “हामी बिहान दुई घण्टा र बेलुका दुई घण्टा कपडा बेच्दै आएका छौँ, दसैँ मुखमा आएको छ, दसैँको मुखमा हाम्रो रोजिरोटी नखोसियोस”, बस्नेत भन्छन् ।

धादिङकी यशोधा सुवेदी पनि लामो समयदेखि सोही स्थानमा व्यवसाय गर्दै आएकी छिन् । “प्रयोगमा नआएको जग्गामा बिहान बेलुका व्यापार गर्दै आए पनि नगरपालिकाले हटाउन खोजेर हामीलाई समस्या पारिदियो” उनी भन्छिन् ।
भेटवाल, बस्नेत र सुवेदी प्रतिनिधि पात्र मात्र हुन् । अहिले काठमाडौँ महानगरपालिकाले माछापोखरी क्षेत्रमा फुटपाथ व्यवसाय हटाउँदा ६० व्यवसायी मारमा परेका छन् । बिहान र बेलुकाको समयमा व्यापार गर्दै आएका उनीहरुसँग हालै रु ४० लाख मूल्य बराबरको सामान छ । दसैँको समयमा सामान बिक्री गर्न नदिँदा उक्त मूल्य बराबरको सामान थन्किने डर व्यवसायीमा रहेको छ ।
माछापोखरी क्षेत्र मात्र नभएर काठमाडौँको मुख्य क्षेत्र न्यूरोड, कोटेश्वर, कलङ्की, चाबहिल, नयाँ बसपार्क क्षेत्रमा रातका समयमा फुटपाथमा सामान राखेर बिक्री वितरण हुँदै आएको छ । उनीहरुले भने व्यापार व्यवसाय गरेबापत हाल कसैलाई पनि कर तथा भाडा तिर्दैनन् ।
काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे अनाधिकृत संरचना र फुटपाथ व्यवसाय हटाउने नीति महानगरपालिकाले लिएको बताउछन् । “महानगरपालिकाले लिएको नीति पालना गर्ने दायित्व नगर प्रहरीको हो, जनप्रतिनिधिको आदेशअनुसार नगर प्रहरीले अनधिकृतरुपमा बनाएका संरचना र फुटपाथ व्यापार हटाउन लागेको हो”, उनी भन्छन् ।

उनले महानगरले लिएको नीतिलाई सहयोग गर्न सबैलाई आग्रहसमेत गरेका छन् । पछिल्लो समय काठमाडौँ महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना र नक्सा पास नगरी बनाएका भवन तथा फुटपाथ व्यवसायीमाथि निगरानी बढाएको छ ।
काठमाडौँ महानगरपालिकाले हालसम्म न्यूरोड, नयाँ बानेश्वर, कोटेश्वर, चाबहिल, नयाँ बसपार्क, वनस्थलीलगायत काठमाडौँभित्रका विभिन्न क्षेत्रमा नक्साविपरीत अनाधिकृतरुपमा बनाइएका संरचना हटाइसकेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  १२ : ०० बजे