१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा निःशुल्क डेंगीको परीक्षण



३१ भदौं ०७९, ललितपुर ।  काठमाडौं उपत्यकाका तीनवटै जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहहरुले डेंगीको निःशुल्क परीक्षण सुरु गरेका छन् । जिल्लामा रहेका सबै प्राथमिक स्वास्थ्य केन्द्रबाट निःशुल्क आरडीटी र्‍यापीड डाइग्नोष्टिक टेष्ट परीक्षणको व्यवस्था गरिएको छ भने स्थानीय तहहरुले समेत वडा स्तरमा निःशुल्क परीक्षण गराइरहेका छन् ।

जसअन्तरगत ललितपुर महानगरले सबै वडाबाट निःशुल्क एन्टिजेन तथा तीन सय रुपैयाँभन्दा कम शुल्कमा सीबीसी (कम्प्लिट ब्लड काउन्ट) परीक्षण गर्ने व्यवस्था गरिएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

काठमाडौं महानगरभित्र वडा नं. ८, १९, २६ र ३० मा रहेका प्राथमिक स्वास्थ्य केन्द्रहरुबाट निःशुल्क परीक्षणको व्यवस्था गरिएको महानगरका स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले बताए । काठमाडौं महानगरले बिहीबारदेखि २४ सै घण्टा परामर्श दिनेगरी हटलाइन सेवाको समेत व्यवस्था गरेको छ ।

११८० नम्बरमा फोन गरी डेंगीसम्बन्धी परामर्श तथा परीक्षणबारे जानकारी लिन सकिने महानगरले जनाएको छ । रातको समयमा महानगरका दुईजना स्वास्थ्यकर्मीबाट डेंगीबारे विभिन्न परामर्श दिइने त्रिपाठीले जानकारी दिए । साथै १०२ नम्बरमा कल गरी महानगरको समन्वयमा निशुल्क एम्बुलेन्स सेवा समेत लिन सकिनेछ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै डेंगी संक्रमितको संख्या सात हजार ६३२ र देशभर १३ हजार ७ पुगेको छ । डेंगी संक्रमित १३ जनाको मृत्यु भएको छ । डेंगी संक्रमणबाट बच्ने प्रमुख उपाय लामखुट्टेको टोकाइबाट बच्नु नै भएकाले व्यक्तिगत सुरक्षाका उपाय अपनाउन र घर वरिपरिको पानी जम्ने वातावरण नबनाउन विज्ञहरुको आग्रह छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  १ : ३२ बजे