७ असोज ०७९, काठमाडौं । चलचित्र ‘महापुरूष’ आउँदो ११ कात्तिक अर्थात् भाइटीकाको भोलिपल्ट प्रदर्शन हुँदैछ ।
सामाजिक विषयवस्तुमा आधारित ड्रामामा मदनकृष्ण श्रेष्ठ, रवीन्द्रसिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेललगायतको अभिनय छ ।
बजेटको हिसाबले पनि दुई करोडको हाराहारीमा बनेर हलसम्म पुगेको फिल्महरू लगातार असफल भएपछि यसको कारण मानोञ्जनको मात्रा कम भएको विश्लेषण गरिएको छ । यद्यपि पुराष्नै मेकिङ शैलीमा साहित्यकार भीमनिधि तिवारीद्वारा लिखित कृति ‘झिँगेदाउ’ मा आधारित सोही नामको फिल्मलाई दर्शकले रुचाएका छन् ।
अभिनेता आचार्यले पूर्ण रूपमा व्यावसायिक कलात्मक फिल्म ‘महापुरुष’ रहेको बताए । ‘यसपटक स्क्रिप्ट झनै मेहनत गरेको पाएँ । यो टिमले निर्माण गरेको अघिल्लो फिल्महरूको तुलनामा यो उत्कृष्ट छ,’ उनले भने । आचार्यले फिल्मको निर्देशक प्रदीप भट्टराईसँग टेलिफिल्म हुँदै शत्रु गतेमा पनि काम गरिसकेको छन् । मह जोडीकै टेलिफिल्महरूमार्फत मुख्य सहायक निर्देशक हुँदै निर्देशक बनेका भट्टराई अझै परिपक्क भएको अभिनेता आचार्यको बुझाइ छ । ‘उहाँको स्क्रिप्ट चयनबाट म प्रभावित छु । बजारले खोजिरहेको विषयवस्तुलाई सरल रूपमा प्रस्तुत गर्ने खुबी तारिफयोग्य छ,’ अभिनेता आचार्यले भने ।
जात्रा, शत्रु गते र जात्रैजात्राको सफलताले आफूलगायत टिममा दायित्व थपिएको निर्देशक भट्टराईले बताए । ‘हामीलाई दर्शकले गर्नुहुने विश्वासले थप जिम्मेवार बनाएको छ । यसपटक हामीले समाजको गम्भीर विषयलाई सरल तरिकाले देखाउने कोसिस गरेका छौँ । समाजमा विधमान सोचलाई भत्काउने प्रयास हाम्रो हो,’ उनले भने ।
‘लोभी पापी’ पश्चात दोस्रोपटक अभिनेता आचार्यसँग स्क्रिन सेयर गर्न पाउँदा अभिनेत्री गौरी मल्ल खुसी छिन् । ‘यो टिमले मलाई अहिलेको मेकिङ शैलीसँग नजिकबाट साक्षात्कार गरायो । हरिदाइको जोडी बनेर देखिन पाउँदा खुसी छु । हामीले नजरअन्दाज गरिरहेको गम्भीर विषयलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ,’ अभिनेत्री मल्लले भन्छिन् ।
अभिनेता हरिवंश आचार्य कोरोना भाइरसको महामारीपछि नेपाली चलचित्र बजार बढी नै उतारचढाव देखिएको बताउँछन् । अहिले आर्ट र कमर्सियल भ्यालु बोकेको फिल्म बजारमा दर्शकले पर्खिरहेको र त्यो ‘महापुरुष’ रहेको उनको भनाइ छ । ‘अहिले दर्शकले आर्ट र कमर्सियल दुवै भएको फिल्म हेर्न खोज्नु भएको छ । महापुरुषमा यी दुवैको मिश्रण छ । यहाँ कमर्सियल भ्यालु राखेर आर्टमा अब्बल फिल्म बनाइएको छ,’ उनले भने ।
नेपाली फिल्मको बढ्दो बजारलाई यसले अझैँ फाइदा पु¥याउने उनले बताए । ‘केही समययता आर्ट भ्यालु बढी भएका फिल्ममा दर्शकको उपस्थिति कम देखिएको छ । चिसो मान्छे, दोख, पानीफोटो, प्रकाश, राधा यसको उदाहरण हुन् । उल्लेखित फिल्महरू विभिन्न नेपाली समयलाई दर्शाउने भए पनि दर्शकले हलसम्म पुगेर हेर्ने जाँगर चलाएनन्,’ उनले भने ।
प्रतिक्रिया