४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


चिसोले कठ्याङ्ग्रिएर सर्लाहीमा दुई जनाको मृत्यु




४ पुस ०७९,सर्लाही । सर्लाही को हरिपुर नगरपालिका ९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर दुई साताको अवधिमा मुसहर समुदायका दुई जनाको ज्यान गएको छ ।
हरिपुर नगरपालिका ९ पिडारीका ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका ६ लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ज्याला मजदुरीको काम गर्ने पिडारीका रमेश मङ्सिर २४ गते धान काट्ने काम गरेर घर आएपछि पराल ओछ्याएर सुतेकामा त्यहीँ चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको पीडित परिवारले जनाएको छ ।
केही वर्षअघि जनता आवास कार्यक्रमअन्तर्गत प्रदेश सरकारले जस्ताले छाएको दुई कोठे घर निर्माण गरिदिएको थियो । दुई कोठामध्ये एउटा कोठा दाइ मोती माझी र अर्को कोठा रमेशले अंशबण्डा गरेका थिए । एउटै कोठामा मृतक रमेश, उनकी श्रीमती चन्दु माझी, जेठो छोरा पङ्कज र बुहारी आँचल र कान्छो छोरा कृष्णनन्दनसहित पाँच जना बस्दै आएका थिए । किरियापुत्री बसेका कान्छो छोरा १६ वर्षीय कृष्णनन्दन माझीले ओढ्ने ओछ्याउने नभएकाले भुइँमा पराल ओछ्याएर सुत्दा बुवाको त्यही कठ्याङ्ग्रिएर ज्यान गएको बताएका छन् ।
स्थानीय मुसहरको पनि लगाउने न्यानो कपडा र ओढ्ने ओछ्याउने नहुँदा समस्या रहेको हरिपुर नगरपालिका ९ पिडारीका वडाध्यक्ष विश्वनाथ रायले बताए । रमेशको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको बारे आफूलाई पनि कसैले जानकारी नगराएको वडाध्यक्ष रायले बताए । उनले चिसो प्रभावितका लागि गैरसरकारी संस्थासँग समन्वय गरी कम्बल बाँड्ने तयारी गरिरहेको जानकारी दिए ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  १० : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।