
८ पुस ०७९, काठमाडौं । फ्रान्सेली नागरिक चार्ल्स शोभराज कारागारबाट मुक्त भएका छन्। हत्या अभियोगमा करिब दुई दशकदेखि उनी केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका थिए।
सर्वोच्च अदालतले बुधबार उनलाई थुनामुक्त गर्न १५ दिनभित्र स्वदेश फर्काउन आदेश दिएको थियो। उक्त आदेशअनुसार उनलाई आज कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाइएको छ।
अध्यागमन विभागले भने कारगारबाट रिहा भएपछि शोभराजलाई उनकै देश फ्रान्स पठाउने तयारी गरेको छ। अध्यागमन विभागका एक अधिकारीका अनुसार शोभराजलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फेरि नेपाल आउन नपाउने गरी उनकै देश फ्रान्स पठाउने (डिपोर्ट गर्ने) तयारी भैरहेको छ।
शोभराजले भने मुटुको उपचार गराउनको लागि भनेर केही समय नेपालमै बस्ने व्यवस्था मिलाइदिन अनुरोध गरेको बताइएको छ।
शोभराज ७८ वर्षका भइसकेका छन्। बुधबार भएको फैसलामा ६५ वर्ष उमेर पुगेका कैदीका हकमा चालचलन हेरेर ७५ प्रतिशतसम्म कैद सजाय छुट दिन सकिने कानूनी व्यवस्था रहेको र विदेशी नागरिकको हकमा समेत सो कानून आकर्षित हुने उल्लेख गरिएको छ।







प्रतिक्रिया