
काठमाडौं, ६ माघ । ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने २७ वटा गाडीलाई कारबाही गरेको छ । काठमाडौंको बबरमहलमा बिहीबार गरिएको प्रदूषण जाँचका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने गाडीलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।
भाडाका मिनी बस १४, पिकअप भ्यान आठ, भाडाका माइक्रोबस तीन र कार दुई गरी २७ वटा गाडी कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिएका छन् ।
वातावरण विभाग बबरमहल र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्तरूपमा खटिएको टोलीले बबरमहलमा ५३ वटा गाडी जाँच गर्दा मापदण्डभन्दा बढी धुवाँ फाल्ने २७ वटा गाडी कारबाहीमा परेका हुन् । गाडी मर्मतपछि तोकिएको जरिबाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिने छ ।
मापदण्डभन्दा बढी धुवाँ फाल्ने गाडी चलाउँदा वायु प्रदूषण बढ्न गइ मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत हुने भएकाले गाडीको अवस्था जाँच गरी दुरुस्त अवस्थामा राख्न चालकलाई प्रवक्ता भट्टले अनुरोध गरेका छन् ।







प्रतिक्रिया