११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पदयात्रा




भक्तपुर
८ माघ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सूर्यविनायक नगरपालिका ७ ले पदयात्रा कार्यक्रम आयोजना गरेको छ ।
राष्ट्रिय युवा सङ्घ पर्यटन विभागको आयोजनामा आज बिहान ९ बजेबाट सुरु भएको पदयात्रा कार्यक्रम नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले उद्घाटन गरेका छन् । उनले नगरपालिका क्षेत्रका डाँडा आफैँमा ‘भ्यूटावर’ रहेको चर्चा गर्दै यहाँबाट काठमाडौँ उपत्यकाका साथै विभिन्न हिमश्रृंखला देख्न सकिने बताए ।
अनन्तकुण्डको ऐतिहासिक एवं धार्मिक महत्वबारे चर्चा गर्दै उनले राजा अंशु बर्माले रानी बिरामी हुँदा यहीँबाट पानी लगेर छर्किएपछि निको भएको किम्बदन्ती रहेको सुनाए । उनले प्रताप मल्लले रानी पोखरी निर्माण गर्दा पनि यहीँ कुण्डको पानी लगेर हालेको इतिहास रहेको समेत बताए ।
“यसअघि म सांसद छँदा यस क्षेत्रमा पदमार्ग निर्माणका लागि बजेट विनियोजन गरेको थिएँ”, उनले भने, “यो क्षेत्र धार्मिक पर्यटनका दृष्टिले पनि महत्वपूर्ण छ ।” यस क्षेत्रमा जङ्गल सफारी गर्दै जङ्गली जनावर, चराचुरुङ्गी नियाल्न पनि सकिने उनले बताए ।
रातोपाटीबाट सुरु भएको पहिलो चरणको पदयात्रा अनन्तकुण्ड, अनन्तलिङ्गेश्वर, महादेव खोला, कैलाश भ्यूटावर, होमस्टेहुँदै रिसालडाँडा पुगेर पूरा हुने आयोजकको भनाइ छ । सूर्यविनायकबाट घ्याम्पेडाँडा, रानीकोट, बाघ भैरब, मानेभन्ज्याङ, पनौती कुशादेवीसम्म र सूर्यविनायकबाट रिसालडाँडा हुँदै पोखरी थुम्कासम्म जान सकिन्छ ।

पदयात्रा उद्घाटन कार्यक्रममा बागमती प्रदेश सदस्य किरण थापाले यहाँको पर्यटन विकासका लागि तीन तहकै सरकारले विगतमा लगानी गरेको बताउँदै अब यस क्षेत्रलाई पर्यटन पूर्वाधार र विकासका लागि थप बजेट ल्याएर काम गर्ने जिम्मेवारी आफूमा आएको बताए ।
कार्यक्रममा युवा सङ्घ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेल, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाललगायतले यहाँको पर्यटकीय गन्तव्य पहिचान गर्दै आन्तरिक पर्यटक बढाउन सकिने बताए ।
यस पदमार्गमा यात्रा गर्दा मृग, बँदेल, खरायो, कालिजलगायतका जङ्गली जनावर तथा पशुपक्षी अवलोकन गर्न सकिन्छ भने एक हजार आठ सय मिटरको उचाइमा पुगेपछि १७ वटा हिमाल र उपत्यकाका तीन वटै सहरको दृश्यावलोकन गर्न सकिन्छ ।

 

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  १ : १५ बजे