११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


शुक्रराज शास्त्रीको सालिकमा पुष्पगुच्छा अर्पणः शहीद सप्ताहका कार्यक्रम शुरु



काठमाडौं, १० माघ । शहीद सप्ताहको पहिलो दिन शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थानमा स्मृति सभा गरिएको छ । काठमाडौंको टेकु मचलीस्थित शहीद शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा पुगेर काठमाडौँ महानगरका प्रमुख एवं सहिद सप्ताह मुल समारोह समितिका संयोजक बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले सहिदको सालिकमा पुष्प गुच्छा अर्पण गरेका थिए । त्यस अवसरमा कार्यपालिका सदस्य, वडा सदस्य, महानगरका कर्मचारीसहित सर्बसाधारणले पुष्पगुच्छा चढाएका थिए ।
यो स्थानलाई वि. सं. २०३५ सालमा तत्कालीन काठमाडौँ नगर पञ्चायतले शिलालेख राखी संरक्षण शुरु गरेको हो ।

शास्त्रीले नागरिक स्वतन्त्रताका लागि शासकबाट प्राण बक्सिस माग्नुभन्दा प्राणदण्ड स्वीकार गरिन् । यो अहिलेका पुस्ताका लागि ठूलो सिकाइ हो । ‘सभामा संक्षिप्त मन्तव्य राख्दै महानगरकी उपप्रमुख डंगोलले, शास्त्रीको योगदानका विषयमा चर्चा गरिन् । नेपाल भाषालाई व्यवस्थित प्रकाशन गर्नमा शास्त्रीको ठूलो योगदान छ । शास्त्रीले नागरिक जीवनको सहजताका लागि गर्नुभएको योगदानका विभिन्न आयाम छन्’ डंगोलको भनाइ थियो ।

उभिएर बोलेको कसुर लगाएर प्राणदण्ड दिने त्यो अन्धकारमय शासनलाई जनताका हातमा ल्याउन सहिदले गरेको योगदानको सम्मानमा धेरै काम गर्न बाँकी छ । एक दिन सहिद सम्झिएर पुग्दैन । वडा १२ का अध्यक्ष बालकृष्ण महर्जनले धारणा राखे ।
बोेलेको भरमा मृत्युदण्ड दिने त्यो समय मन लागेको कुरा बोल्न पाइने यो दिनमा कसरी रुपान्तरण भयो? त्यसका लागि कसले के योगदान गरेका थिए ? इतिहासको त्यो पक्ष विर्सिन मिल्दैन । कार्यक्रममा नेपाल आर्य समाजका अध्यक्ष डा. माधवप्रसाद उपाध्यायले सहिदहरुको बलिदानीको सम्मानमा समन्वयात्मक कामको खाँचो देखाए । डा. उपाध्याय त्रिभुवन विश्वविद्यालय संस्कृत विभागका प्रमुख हुन् ।

पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु¥याउन बलिदानी दिने सहिदको योगदानको सम्मानमा काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा सप्ताहव्यापी कार्यक्रम आयोजना हुने गरेका छन् । यस क्रममा माघ १३ गते सिफलमा सहिद धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा र १५ गते शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थानमा स्मृति सभा हुनेछ ।

महानगरले प्रजातन्त्र प्राप्तिका लागि ज्यानदण्ड पाएका ४ सहिदहरुको पूर्ण कदको शालिक उनीहरुले सहादत प्राप्त गरेकै स्थानमा स्थापना गरेको छ । २०७५ सालमा शुक्रराज शास्त्रीको शालिक स्थापना गरिएको हो भने धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको २०७६ साल स्थापना गरिएको हो । माथेमाको शालिक उनको जन्म स्थान ओमबहालमा पनि स्थापना गरिएको छ ।

यस बर्षको माघ १६ गते शान्तिबाटिकाबाट सुरु हुने प्रभातफेरी लैनचौरस्थित सहिद पार्कमा पुग्नेछ । संघीय मन्त्री तथा प्रदेश मन्त्रीहरु, संसदसहित उच्च पदस्थ पदाधिकारीहरु प्रभातफेरीमा सहभागी हुनुहुनेछ । प्रधानमन्त्री सिधै शहीद पार्कमा जानुहुनेछ । त्यस अवसरमा नेपाली सेनाको टुकडीले सम्मान गारद अर्पण गर्नेछ ।

शुक्रराजको जन्म वि. सं. १९५० सालमा बनासरमा भएको हो । भारतकै देहरादुनस्थित अच्युतानन्दको गुरुकुलबाट प्रारम्भिक शिक्षा शुरु गरेका शास्त्रीले इलाहवादकै आर्य समाज विद्यालयमा केही समय प्रधानाध्यापकका रुपमा काम गरेका थिए । त्यस क्रममा उनले पटना, दार्जिलिङ्, कलकत्तालगायत स्थानमा भएका नेपाली भाषीविच नागरिक अधिकारका विषयमा संगठन गर्न थालिसकेका थिए । त्यसपछि नेपाल फर्कि्रएका शास्त्रीलाई उपत्यकामा नजरबन्दमा राखिएको थियो । यति हुँदाहुँदै पनि शास्त्रीले १९९४ सालमा असनमा आफ्नै अध्यक्षतामा नागरिक अधिकार समिति गठन गरेका थिए । यस समितिको सदस्यमा गंगालाल श्रेष्ठ पनि थिए ।

धार्मिक गतिबिधिबाट जहानियाँ शाशनविरुद्ध जागरण अभियान सञ्चालन गर्ने क्रममा १९९४ मंसिर १३ गते इन्द्रचोकमा मानिसहरुलाई भेला गराएर गीताका श्लोकमार्फत जहानियाँ शासनको आलोचना गर्नुभएको थियो । राणाको बिरोध गरेको यही आरोप लगाएर उहाँलाई पक्राउ गरिएको थियो । १९९७ माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमसेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी ५ जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो ।

पछि पूर्णनारायणको सजायलाई आजन्म कैदमा परिवर्तन गरियो । यसरी जेल सजाय भोगिरहेकै बेला राणा शाशन विरुद्ध देश विदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा र धर्मभक्त माथेमालाई माघ १३ गते सिफल उकालो बकाइनाका रुपमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो । त्यस्तै गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा गोली हानेर प्राण दण्ड दिइएको थियो ।

 

 

 

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  १ : ११ बजे