काठमाडौं
२६ माघ । चरित्र प्रस्ट्याउने पोस्टर सार्वजनिक भएदेखि नै चलचित्र ‘गुलाबी ः एक रङ’ को चर्चा भइरहेको छ । पोस्टरमा अभिनेता नाजिर हुसेनलाई मात्र चित्रण गरिएको छ । उहाँ पारालैङ्गिक महिला देखिएका छन् । ‘लुक्स’लाई आकर्षक बनाउन मेकअपदेखि चरित्र रूपान्तरणमा अभिनेता हुसेनले मेहनत गरेको देखिन्छ । गुलाबी नामको पात्रको भूमिका रहेको चलचित्रलाई समुद्र भट्टले निर्देशन गरेका हुन् ।
“हामीले फिल्मको पात्रको बारेमा जानकारी दिन सार्वजनिक गरेको चरित्र पोस्टरले अपेक्षा बढेको पाएकी छु । यसले मलाई खुसी मिलेको छ भने दायित्व पनि थपेको छ”, निर्देशक भट्टले भने, “यसको कथा तयार भएपछि मैले सोचेकै कलाकारलाई अभिनय गराउन पाएँ । उहाँहरूको उपस्थितिले पात्रलाई जीवन्त बनाएको छ ।”
निर्माणसम्बन्धी सोच कोभिड १९ कै समयमा आएको निर्देशक भट्टले जानकारी दिए । उनले भने, “म राहत वितरण गर्न जाने क्रममा नीलहिरा समाजमा पुग्दा सुनिएको कथाले आँखा रसाए । त्यसपछि पुराना दुई कथालाई पन्छाउँदै यसको सुरुआत गरेँ ।” उनले पटकथा निर्माण र अनुसन्धानमा लैङ्गिक अल्पसङ्ख्यकको क्षेत्रमा कार्य गर्ने संस्था नीलहिरा समाजसँगै नीति नेपालसँग परामर्श गरेको जानकारी दिए ।
बाहिरी आवरण र भित्री कथाको भिन्नता देख्न पाइने चलचित्रको शीर्ष भूमिकामा देखिनुभएका अभिनेता हुसेनले एक वर्षसम्म पारालिङ्गी महिलालाई अवलोकन गर्नुका साथै चरित्र निर्माणका लागि क्लबदेखि सपिङ मलसम्म पछ्याए ।
यस चलचित्रमा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, अनुपम श्रेष्ठ र विशाल पहारीकोसमेत अभिनय छ ।
द स्काइ ओसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र आउँदो वर्षको वैशाखमा प्रदर्शन गर्ने तयारी छ । निर्देशक भट्टले यसअघि ‘रिङरोड’ र ‘आधापेज’जस्ता चलचित्र निर्देशन गरिसकेकन छन् ।
२६ माघ २०७९, बिहिबार
0
Shares
प्रतिक्रिया