२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सरकारले घोषणा गर्ने बिदामा अत्यावश्यक सरकारी कार्यालय र बैंक खुल्ने, विदाको औचित्यमाथि प्रश्न




काठमाडौं
१३ फागुन । सरकारले घोषणा गर्ने सार्वजनिक विदाको औचित्य पुष्टि गर्न कठीन हुने भएको छ ।
सरकारले सार्वजनिक बिदाका दिन अत्यावश्यक सेवा प्रवाह हुने सरकारी कार्यालय खुला गर्ने निर्णय गरेसँगै यो विदाको औचित्यमाथि प्रश्न उठ्ने अवस्था आएको हो ।
साथै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कार्यालय समयसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ । सरकारले आकस्मिकरुपमा घोषणा गर्ने सार्वजनिक बिदाका दिन पनि अब बैंक तथा वित्तीय संस्थाले सेवा दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले ल्याएको हो ।
यही फागुन ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले अत्यावश्यक ठानिएका कार्यालयलाई सेवा प्रवाहका लागि सार्वजनिक बिदामा खोल्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् ।
‘बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९’ संशोधनमा संशोधन गर्दै राष्ट्र बैंकले आजबाट यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ । “नेपाल राष्ट्र बैंकबाट जारी भएको बैंक बिदाको सूचीका अतिरिक्त नेपाल सरकारबाट आकस्मिक बिदा घोषणा भएको दिन नगद कारोबार, चेक क्लियरिङ, रियल टाइम ग्रस सेटलमेन्टलगायतका अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बिहान १० बजेदेखि दिउँसो १ः३० बजेम्म बैंक तथा वित्तीय संस्थाका कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउनुपर्नेछ”, राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।
यसअघि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंक खुलेको दिनबाहेक अन्य दिन सेवा दिनुपरेमा बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरीवेक्षण विभागमा पूर्वजानकारी गराउनुपर्ने व्यवस्था रहेको थियो । तर, अब आकस्मिकरुपमा घोषणा गरिएका सार्वजनिक बिदामा बैंक तथा वित्तीय संस्थाले अनिवार्यरुपमा सेवा दिनुपर्नेछ ।
सरकारले कस्ता बिदामा कार्यालय खोल्ने भन्ने तोक्न बाँकी रहेको सञ्चारमन्त्री शर्माले बताइन् । बिदाका दिन कुन कार्यालय खोल्ने भन्ने विषयलाई मन्त्रिपरिषद्को प्रशासनिक समितिले टुङ्गो लगाउने छ । त्यस्ता बिदा र कार्यालयका नाम छिट्टै तोकिने उनले जानकारी दिइन् । अबदेखि त्यस्ता कार्यालय सार्वजनिक बिदा घोषणा भए पनि खुल्नेछन् ।
“सार्वजनिक बिदा घोषणा भएका दिन पनि त्यस्ता कार्यालय भने खुला रहनेछन् । बिदाका दिन कुनकुन कार्यालय खोल्ने भन्ने समितिले सूचीकृत गर्नेछ”, मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले भनिन् । बिदाका दिन र कार्यालयका नाम सूचीकृत भएपछि सार्वजनिक हुने उनको भनाइ छ ।
“जनताको सेवा प्रवाहका निम्ति महत्त्वपूर्ण ठानिएका मन्त्रालय, निकायले बिदाका दिन पनि काम गर्ने निर्णय भएको छ”, उनले भनिन् । कर्मचारीलाई सट्टा बिदा दिएर भए पनि कार्यालय सञ्चालन गरिनेछ ।

 

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  २ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।