४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पर्यटन


‘ठमेलको रात्रिकालीन व्यवसायलाई व्यवस्थित गरौँ’




जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख दानबहादुर कार्कीले नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको ठमेल क्षेत्रको रात्रिकालीन व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन आचारसंहिता निर्माण गर्नुपर्ने बताएका छन् ।
ठमेलका व्यवसायी तथा घरधनीको साझा संस्था ठमेल पर्यटन विकास परिषद्ले आज साँझ यहाँ आयोजना गरेको ‘ठमेल क्षेत्रको शान्तिसुरक्षा सम्बन्धमा छलफल तथा अन्तरक्रिया’मा उनले आचारसंहिता बनाएर ठमेल क्षेत्रको रात्रिकालीन व्यवसायलाई व्यवस्थित बनाउन सकिने धारणा राखे ।
“व्यवस्थित ठमेल निर्माणका लागि आचारसंहिता बनाऔँ, आचारसंहिताअनुसार सबैले काम गरे यसभित्र देखिएको विकृति अन्त्य हुँदै जान्छ”, उनले भने । ठमेलभित्रका सबै व्यवसायीले अनिवार्य सिसिटिभी जडान गर्नुपर्ने उनको भनाइ थियो ।
काठमाडौँ प्रहरी प्रमुख कार्कीले व्यवसाय दर्ता, कर्मचारीको पारिश्रमिक स्पष्ट, सिसी टिभी जडान, बत्तीको व्यवस्था, जथाभावी हुने यौनजन्य हिंसाकोे अन्त्य गरेमात्र सुन्दर ठमेल निर्माण हुने बताए ।
काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले देशको आर्थिक मेरुदण्डका रुपमा रहेको होटल व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन व्यवसायी, घरधनी र सुरक्षाकर्मी सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए । व्यवसायलाई स्वच्छ र मर्यादित बनाउन स्थानीय तहको पूर्ण साथ र सहयोग रहने उनको भनाइ थियो ।
प्रहरी वृत्त लैनचौरका प्रमुख प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले ठमेलभित्र हुने बालश्रम, श्रमशोषण र यौनशोषणका विरुद्धमा प्रहरी खरो रुपमा उत्रने बताए ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेललाई मर्यादित र व्यवस्थित बनाउन परिषद् लागेको बताउँदै यसमा साथ दिन स्थानीय तह र प्रहरीलाई आग्रह गर्नुभयो । उहाँले पछिल्लो समय ठमेललाई व्यवस्थित बनाउन तार व्यवस्थापन, ढल व्यवस्थान, ठमेलका सडकमा बत्ती जडान, सिसी टिभी जडान लगायतको कामलाई परिषद्ले तीव्रता दिएको बताउनुभयो ।

परिषद्का महासचिव राजीव पाण्डेले व्यवसायी, घरधनी, प्रहरी र स्थानीय सरकारबीच सहकार्य गरेर अगाडि बढेमात्र ठमेललाई व्यवस्थित बनाउन सकिने बताउनुभयो । सोही अवसरमा ठमेलभित्रका व्यवसायी तथा घरधनीले आफूले व्यवसायका क्रममा शान्तिसुरक्षाका क्षेत्रमा भोगेका समस्याबारे स्थानीय जनप्रतिनिधि र प्रहरीलाई अवगत गराउनुभयो ।
–––

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ५ : ०१ बजे